धरान । विद्यार्थीहरू पुर्याउने क्रममा धरान–१४ स्थित आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा १६ जना घाइते बनेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार साँझ ५ बजेतिर को.१ क ३३९९ नम्बरको बस धरान–४ वसन्तटारको टर्निङमा पल्टिँदा १४ जना विद्यार्थी र चालक, सह–चालक घाइते बनेका हुन् ।
विद्यार्थीमध्ये आविष्कार विकको हातमा चोट लागेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर भूवनबाबु खड्काले जानकारी दिए । त्यस्तै चालक धरान–१४ का नारायण मगर र सह–चालक विर्खबहादुर तामाङको टाउकोमा चोट लागेको छ । उनीहरूको विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै अन्य विद्यार्थीहरूको अवस्था सामान्य रहे पनि उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा ३ वर्षदेखि १३ वर्ष उमेर समूहका रहेको ट्राफिक प्रहरीले जनाएको छ ।