धरान । नेवा च्यारिटी १० के रनको दशौं संस्करण फागुन २१ गते हुने भएको छ । दशौं संस्करण भव्य गर्न लागिएको जनाइएको छ ।

आयोजक धरान रन समूहले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना सङ्क्रमणका कारण पूर्व घोषित कार्यक्रमलाई केही पछि सार्नुपरेको अध्यक्ष रमु राईले जानकारी दिए । प्रतियोगितामा यसपटक ३ हजार धावकधाविकाहरूले प्रतिस्पर्धा गर्ने वातावरण तयार गरिरहेको उनले बताए । यसपटक १२ वर्षभन्दा मुनीका बालबालिकाहरूलाई भने अलग्गै प्रतियोगिता गराउन लागिएको छ ।

त्यस्तै १२ वर्षभन्दा माथिको हकमा भने अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । कोरोनालाई मध्यनजर गर्दै १२ वर्षभन्दा माथिको हकमा खोप कार्ड अनिवार्य गरिएको संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिए । उनले भने, ‘कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै खोप कार्ड अनिवार्य गर्न लागिएको हो । साना बालबालिकाहरूलाई अलग्गै कुदाउँछौं ।’ प्रतियोगितामा यसपटक नेपालसहित पूर्वोत्तर भारत र बेलायतका धावकधाविकाहरूले प्रतिस्पर्धा गर्दै छन् ।

त्यससँगै यसपटक स्पाइनल कर्ड इन्जुरी भएका खेलाडीहरूबीच पनि छुट्टै प्रतियोगिता गर्न लागिएको छ । उनीहरूबीच ह्वील चियर रेस गराइन लागिएको छ । आयोजकले यसअघि फागुन ७ गते प्रतियोगिता गर्ने जानकारी गराएको थियो ।

प्रतियोगितामा ओभरअल विजेताले नगद ६० हजार, दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै अण्डर १६, अण्डर १२, महिला र भेट्रानका विजेताले नगद ७ हजार, दोस्रोले नगद ५ हजार र तेस्रोले नगद ३ हजार रुपैयाँसहित प्रमाण–पत्र पाउनेछन् । त्यस्तै सुपर भेट्रानलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै खेलकुदका क्षेत्रमा योगदान दिनेलाई पनि सम्मानित गरिन लागिएको छ । धरान रन समूहले नेवा च्यारिटी एजुकेसन फण्डमा रकम जम्मा गरी सामुदायिक स्कुलमा अध्ययनरत विपन्न तथा मिहिनेती विद्यार्थीहरूलाई अध्ययनका लागि खर्च प्रदान गर्दै आएको छ । आयोजककै लोकबहादुर लिम्बूले यसपटक दर्ता शुल्क ४ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीको हकमा ३ सय रुपैयाँ मात्रै रहेको छ ।