विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा कोरोना सङ्क्रमित चिकित्सक, नर्स र कर्मचारीको सङ्ख्या दिनदिनै बढेको छ ।

मङ्गलबारसम्म कोसी अस्पतालमा सङ्क्रमितको सङ्ख्या १ सय ३३ पुगेको अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित हुनेमा २४ जना डाक्टर, ४२ जना स्टाफ नर्स, ११ जना प्यारामेडिक्स, ७ जना प्याथोलोजिस्ट, ४ जना डेन्टल डिपार्टका स्वास्थ्यर्मी र ३६ जना कार्यालय सहयोगी रहेको जानकारी दिए ।

अस्पतालमा कोरोना सङ्क्रमणको अवस्था भयावह रहेको छ । कोसीमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामी उपचारका क्रममा चिकित्सक र नर्सहरू सङ्क्रमित भएका अस्पतालले जनाएको छ ।

सङ्क्रमित चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा रहेको उनले बताए । बिरामी उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू सङ्क्रमित भएपछि ओपीडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको छ ।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेका बेला चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरू पनि पछिल्लो समय धमाधम सङ्क्रमित हुन थालेपछि सेवा प्रवाह कठिन भएको यादवको भनाइ छ ।

‘सङ्क्रमितमध्ये ४ जना चिकित्सक पुनः काममा फर्केकाले सेवा प्रवाहमा केही राहत भएको छ’ उनले भने, ‘चिकित्सकमा सङ्क्रमणदर यस्तै रह्यो र सरकारले दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाए सेवा ठप्प हुने अवस्था आउने देखिन्छ ।’