धरान । धरानका विभिन्न सहकारीहरु पछिल्लो समयमा व्यवस्थापकीय कमजोरीले विवादास्पद भइरहेको र बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेको चर्चा चलिरहेको बेला न्यू जनकल्याणकारी बचत तथा ऋण सहकारीले भने नाफा गरेको जनाएको छ ।

साना व्यापार व्यावसाय गर्ने महिलाहरुलाई लक्षित गरेर १६ बर्ष अघि स्थापना गरिएको उक्त सहकारीले आर्थिक बर्ष ०७७/७८ मा ६६ लाख ७३ हजार ४ सय ७ रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।

सहकारीको १६ औं बार्षिक साधारणसभामा अध्यक्ष मनकुमारी याक्खाले आर्थिक बर्ष ०७७/७८ मा कोरोना महाकारी सुरु भएयता विश्वभर आर्थिक कारोबारको स्थिति खस्किए पनि डव्लुएचओ र नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना सेवाग्राहीलाई घरदैलो पुगेर पनि सेवा दिएकाले सहकारीलाई नाफामा लैजान सफल भएको बताइन् । 

उनले सहकारीले दुर्गम र ग्रामिण क्षेत्र आफ्नो पहुँचलाई विस्तार गर्न विभिन्न रेमिट कम्पनीसँग सहकार्य गर्दै मनि ट्रान्सफर (विपे्रशण सेवा), हवाइजहाज कम्पनीसँगको सहयकार्यमा ट्राभल्स सेवा, शेयर सदस्य सुरक्षण कोष र शेयर सदस्य दुर्घटना कोषलाई निरन्तरता दिएको पनि बताइन् ।

उनले भनिन्, ‘कोरोना महाकारीको तेश्रो लहरमा सहकारीको मुल्य मान्यता र शेयर सदस्यहरुले बचत गरेको रकमलाई कसरी नाफमूलक बनाएर लैजाने भन्ने सन्दर्भ चिन्ताको विषय बनेको छ । तर हामीले हार खाएका छैनौ । थोरैमात्र आम्दानी हुने साना व्यावसायी र घरेलु महिला र कामकाजीलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन कोरोना महामारीकाबीच सँगसँगै अगाडि बढ्नुको विकल्प छैन ।’  

उनका अनुसार सहकारीको धरान उपमहानगर क्षेत्रमा ४ सय ७२ जना शेयर सदस्य रहेका छन् । ती शेयर सदस्यहरुमध्ये पनि ९५ प्रतिशत महिला नै छन् । सहकारीले आर्थिक बर्ष ०७७/८८ मा १८ लाख ८३ हजार रुपैयाँ मात्र निक्षेप, ११ करोड २८ लाख ९९ हजार ९ सय ८७ रुपैयाँको (९२.२३ प्रतिशत) आर्थिक कारोबार गर्न सफल भएको सचिव विष्णुमाया लिम्बुले बताइन् ।

सहकारीका ऋण तथा कर्जा उपसमितिका सचिव सुनिता याक्खाले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै डावाडोल भएकाले सहकारीले आर्थिक बर्ष ०७७/७८ मा ४९ लाख ९ हजार रुपैयाँ शेयर बिक्री गर्ने लक्ष्य लिए पनि १८ लाख ८३ हजार रुपैयाँमात्र बिक्री भएको बताइन् ।