सुनसरी । कहिल्यै विद्यालयको मुखसमेत नदेखेकी कोसी गाउँपालिका–७ हरिपुरकी सरस्वती सदा आजकाल अक्षर चिन्ने मात्रै होइन, नाम लेख्न सक्ने भएकी छन् ।

कोसी क्षेत्रमा आयोजना हुने अधिकांश कार्यक्रममा देखापर्ने उनी यसअघि ल्याप्चे लगाउने गर्थिन् भने आजकाल खुरुखुरु नाम लेखेर हस्ताक्षर गर्छिन् ।

स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन) तथा साझेदारी संस्था आसमान नेपाल, जावास नेपाल, साहास नेपाल र कोसी गाउँपालिकाको संयुक्त प्रयासमा कहिल्यै विद्यालयको मुखसमेत नदेखेकी आफूजस्ता मुसहर समुदायका बालिका तथा किशोरीहरूको लागि दुई वर्षयता सञ्चालन गरिरहेको विशेष कक्षा कार्यक्रम उपलब्धिमूलक भएको सरस्वती बताउँछिन् ।

मुसहर समुदायका बालिका तथा किशोरीहरूलाई सशक्त र चेतनशील बनाउँदै उनीहरूलाई आफ्नो हक अधिकारबारे अवगत गराउने उद्देश्यले विभिन्न संस्थाहरूसँग मिलेर कार्यक्रम आयोजना गरिरहेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

मुसहर समुदायका बालिका तथा किशोरीहरूलाई शिक्षामा पहुँच पु¥याउँदै निरन्तरताका लागि समुदायस्तरमा ६ महिनासम्म निरन्तर अनौपचारिक शिक्षा तथा नयाँ प्रविधि टोल विधिद्वारा पढाउने गरिएको बताइएको छ ।

mikail-alam-news

कोसी गाउँपालिकाको वडानम्बर ६ को मुसहरी टोल र वडा नम्बर ७ को पटना टोलमा स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन) को नेतृत्व तथा आसमान नेपाल, जानकी महिला जागरण समाज (जावास) र सहयोगी हातहरूको समूह (साहास) नेपालको सहकार्यमा आफूहरूले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएपछि मुसहर समुदायका बालिका तथा महिला दिदीबहिनी जागरुक बन्दै गएको कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवको दाबी छ ।

शिक्षामा पहुँच बढाउँदै उनीहरूको गरिबीको अवस्थामा सुधार ल्याउन भविष्यमा  व्यावसायिक तालिम तथा विभिन्न सीपमूलक व्यवसायहरू मुसहर समुदायका बालिका तथा किशोरीहरूलाई प्रदान गर्ने योजना रहेको अध्यक्ष ऐयुब अन्सारीको भनाइ छ । साथै उनले कालान्तरमा विद्यालयमा अध्ययनरत बालिकाहरूलाई साइकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । शिक्षामा सबैको पहुँच पु¥याउन आफूहरू कटिबद्ध भएर लागेकाले अबका केही वर्षमा दलित तथा अति विपन्न समुदायको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनेमा अध्यक्ष अन्सारी विश्वस्त छन् ।

पछाडि पारिएका मुसहर बालिका तथा किशोरीहरूले अहिले केही गरेर देखाउन सक्ने भएको बताउँदै कोसी गाउँपालिका वडानम्बर ६ की स्थानीय कल्पना सदाले भनिन्, ‘अबका दिनमा केही गर्न सक्ने र आफ्नो हक अधिकारको बारेमा अवाजसमेत उठाउन पछि पर्दैनौं ।’

कोसी गाउँपालिकाको सहकार्य तथा विभिन्न सङ्घ–संस्थाहरूको साझेदारीमा मुसहर बालिका तथा किशोरीहरूको शिक्षा, सशक्तिकरण एवम् जीविकोपार्जनका लागि सञ्चालित मार्जिन लाइफ नो मोर (एमएनएम) परियोजना अन्तर्गत विभिन्न तालिमहरू सञ्चालित छन् ।

सोही परियोजनाअन्तर्गत कोसी गाउँपालिकाभित्र रहेका मुसहर समुदायका बालिका तथा किशोरीहरूको लागि विभिन्न बस्तीका १० वटा टोलका जम्मा २ सय ५५ जनामध्ये १० देखि १४ वर्षका १ सय ४८ जनालाई विद्यालय भर्ना गराएको र १५ देखि १८ वर्ष उमेर समूहका १ सय ७ जनालाई जीविकोपार्जनको लागि तालिमका साथै सामग्री उपलब्ध गराएको स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन) की शिक्षा अधिकृत भावना ऋषिदेवले जानकारी दिइन् ।

विद्यालय भर्ना भएका किशोरीहरूलाई विद्यालय पोसाक र शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको उनको भनाइ छ । समुदायमा किशोरी छलफल समूह सञ्चालन गरी विद्यालय भर्ना गरिएका किशोरीहरूका लागि होमवर्क क्लबसमेत गठन गरिएको  बताइएको छ ।