धरान । धरानमा प्रधान कार्यालय रहेको मितेरी विकास बैङ्कको १६ औं साधारणसभाले १४ प्रतिशत लाभांश दिने घोषणालाई पारित गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा आयोजित साधारणसभामा गतवर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत कर प्रयोजनार्थ लाभांश दिने घोषणा बुधबार पारित गरिएको हो ।

पारित गरिएअनुसार बोनस शेयरबापत हुने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा र कर प्रयोजनार्थ ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा लाभांश वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले जानकारी दिए । उनका अनुसार बैङ्कले गत आर्थिक वर्षमा १४ करोड ५६ लाख ४७ हजार ८ सय ४० रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।

बैङ्कले ५ अर्ब ४९ करोड २० लाख ४९ हजार १ सय २० रुपैयाँ बचत गरेको छ । ऋणतर्फ ४ अर्ब ९४ करोड ९४ लाख ९१ हजार सात सय ७० रुपैयाँ लगानी गरेको छ ।

यसैबीच सर्वसाधारणका तर्फबाट सञ्चालक समितिको निर्वाचनले शम्भुप्रसाद श्रेष्ठ, ललितकुमार अग्रवाल र वन्दा वैद्यलाई निर्विरोध निर्वाचित गरेको छ । हरेक चार–चार वर्षमा सञ्चालक समितिका पदाधिकारी चयन गर्ने प्रक्रिया रहेको छ ।

यता संस्थापकतर्फ भने अर्को वर्ष पदाधिकारी चयन गरिँदै छ । कुल ७ सदस्यीय सञ्चालक समिति हुने प्रावधान छ । तीनजना सर्वसाधारण र तीनजना संस्थापक साथै एकजना स्वतन्त्रबाट समितिमा ल्याउने प्रावधान रहेको छ ।

बैङ्कले राष्ट्र बैङ्कको नीतिलाई अख्तियार गर्दै मर्जर नीतिलाई पनि अगाडि सारेको छ । त्यसका लागि सञ्चालक समिति र मर्जर समितिलाई जिम्मेवारी दिइएको छ ।

अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसँग गाभ्ने र गाभिनेसम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समिति र मर्जर समितिलाई दिने प्रस्ताव नै गरिएको अध्यक्ष किशन मास्केले जानकारी दिए । बैङ्कको सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटामा शाखा छन् ।