विजयपुर । शिक्षा मन्त्रालयले नेपालभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय बन्द गर्न सुझाव दिएको थियो । उक्त सुझावको आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज (मङ्गलबार) बाट लागू हुने गरी प्राथमिक तहदेखि माध्यमिक तहसम्म बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार हाल गरिएको बिदा विद्यालयले वार्षिक बिदामा मिलान हुने गरी बन्द गर्नुपर्ने निर्णय गरेको हो । मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेसँगै धरान उपमहानगरपालिकाले पनि कार्यान्वयन गर्न सूचना गरेको छ ।

धरान उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालले मन्त्रालयको निर्णयलाई कार्यान्वयन गराउने बताए । उनले भने, ‘लामो समय बन्द भएकाले सकेसम्म बन्द नगर्नु भनेका थियौँ । मन्त्रालयले कोभिडको तेस्रो लहरलाई चेन ब्रेक गर्नका लागि बन्द गर्ने निर्णय गरेको होला । अब पूर्णरूपमा बन्द नै गर्नुपर्छ ।’

साथै मन्त्रालयले विद्यालय बन्द भएको समयमा सिकाइ सहजीकरण २०७७ अनुसार वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न पनि निर्देशन दिएको छ । बिदाको समयमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत् खोप लगाउने व्यवस्था गरिने जनाइएको छ ।

साथै मन्त्रालयले विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरूको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरू पूर्णरूपमा पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ । पूर्व निर्धारित परीक्षा सञ्चालन गर्दा जेड आकारमा विद्यार्थीको बसाइ हुनुपर्ने मन्त्रालयले जनाएको छ ।