विजयपुर । १ सय २१ औं धरान उत्सवको अवसरमा धरान होलीडेजले विशेष छुटसहित सेवा दिइरहेको छ ।

छुटसहितको सेवा ३ दिनसम्म रहनेछ । धरान उत्सवको अवसरमा धरान होलीडेजले सिम्रिक एयरको हेलिकप्टरबाट सेवा दिइरहेको छ । उत्सवका अवसरमा पाथीभरा मन्दिर दर्शनका लागि ३२ हजार रुपैयाँ रहेकोमा ५ हजार रुपैयाँ छुट दिएर सेवा दिइरहेको छ ।

त्यसैगरी धरान घुम्नका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ लाग्ने उडानमा अहिले ३५ सयमात्र लाग्ने होलीडेजका मार्केटिङ मेनेजर कविन श्रेष्ठले बताए । उनले १५ सय रुपैयाँ छुट दिएको बताए ।

उत्सवमा धरान घुम्न ५ जनाको लागि १७ हजार ५ सय रुपैयाँ लाग्नेछ । उनले स्थानीय सरकारको अनुरोधमा पर्यटन प्रवद्र्धनका लागि केही घाटा भए पनि उत्सवभर छुटसहित सेवा दिएको बताए । उनले भने, ‘उपमहानगरको विशेष अनुरोधमा पर्यटन प्रवद्र्धनका लागि छुट दिइएको हो ।’

उनले चैत महिनामा मात्रै हेलिकप्टर ल्याउने योजना भए पनि धरान उत्सवका लागि ल्याएको बताए । उनले हेलिकप्टरमा धरानबाट काठमाडौं पुगेको मात्रै २ लाख ७० हजार रुपैयाँ लाग्ने बताए । उनले सुरु दिनमा सामान्य भए पनि दोस्रो दिनदेखि राम्रै ग्राहक आउने अपेक्षा रहेको बताए ।

होलीडेज सञ्चालकले आन्तरिक पर्यटकको यसप्रति रुचि भएको अर्का सञ्चालक अजय खनालले बताए । उनले विशेष गरेर वृद्धवृद्धालाई राहत पुगेको बताए । उनले भने, ‘गाडीमा हिँड्न नसक्नेलाई वरदान नै सावित भएको छ । धार्मिक मठमन्दिर र आफ्नो पुरानो घर जान पाउँदा सबै खुसी हुन्छन् ।’ हेलिकप्टरमा उड्नका लागि उत्सवकोे ३५ नम्बर स्टलमा बुकिङ गर्न सकिन्छ ।