धरान । डेरावालासँग तोकिएभन्दा बढी महसुल लिने घरधनीको घरमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्ने भएको छ ।
प्राधिकरणको हालै संशोधित विद्युत् महसुल सङ्कलन विनियमावलीले डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने व्यवस्था गरेको छ ।
सो व्यवस्थाअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्योभन्दा बढी तिर्नुपरेमा डेरावालाले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्नेछन् । अबदेखि बढी महसुल लिएको प्रमाणसहितको उजुरी आए घरधनीलाई बोलाएर छलफल गरिने र अटेर गरेमा लाइन काटिने प्राधिकरणले जनाएको छ ।
घरधनीहरूले डेरावालासँग बढी महसुल असुल्ने गरेको देशव्यापी गुनासोपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यसअघि प्राधिकरणले ग्राहकको गुनासो सुने पनि कारबाही गर्ने व्यवस्था थिएन । यस्तो उजुरी आए ठगी मुद्दामा प्रहरीले कारबाही गर्ने गरेको थियो । तर, अब प्राधिकरणमै उजुरी लिने र कारबाही गर्ने व्यवस्था गरिएको हो ।
त्यसैगरी प्राधिकरणले भाडामा बस्नेले पनि छुट्टै मिटर लिनसक्ने व्यवस्था पनि गरेको छ । यदि कुनै डेरा, फ्ल्याट वा अपार्टमेन्टमा बस्नेले छुट्टै मिटर राख्न चाहे तुरुन्तै उपलब्ध गराइने प्राधिकरणले व्यवस्था गरेको जनाएको छ ।