धनकुटा । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालको सामाजिक हितमा प्रयोग गर्नु पर्ने शुक्रबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
धनकुटा नगरपालिकाको आयोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि इटहरी सुनसरीको आर्थिक सहयोगमा आयोजित वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको रिटर्नी सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो जोड दिएका हुन् ।
सो अवसरमा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएर वर्षौंसम्म बसेर आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा व्यावहारिक रूपमा सामाजिक हितमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए । थापाले भने, ‘नेपाल सरकारको नीति नै वैदेशिक रोजगारीमा गएर घर फर्किएकाहरूको ज्ञान, सीपलाई व्यावहारिक प्रयोगमा ल्याउने रहेको छ ।’ उनले विदेश गएर आएको मात्र नभै विदेश जानेहरू र विदेश गएर पनि दुःख पाएकाहरूलाई यो कार्यक्रम प्रभावकारी रहेको औंल्याए ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको रिटर्नी सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रमको सहजीकरण धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले गरेका थिए । सो अवसरमा उनले वैदेशिक रोजगारीको वर्तमान अवस्था, वैदेशिक रोजगारीको सकारात्मक प्रभाव, वैदेशिक रोगारीबाट फर्किएपछि कसरी दिगो व्यवसाय गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरूको समूह वा सञ्जाल गठन गर्नु पर्ने आवश्यकता, महत्व र उद्देश्यहरूको बारेमा सहजीकरण गरे ।
साथै अधिकारीले नेपालीहरूले विश्वका १ सय १० देशमा रोजगारीमा जान सक्ने र हालको अवस्थामा कुल जनसङ्ख्याको ५६ प्रतिशत वैदेशिक रोजगारीमा निर्भर रहेको तथ्य पनि सार्वजनिक गरे । सहजीकरणको क्रममा अधिकारीले वैदेशिक रोजगारीले गर्दा नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा समेत परिवर्तन आएको बताए । उनले नेपाली अर्थतन्त्रलाई पनि गतिशील र चलायमान बनाएको स्पष्ट पारे ।
वैदेशिक रोजगारीले गर्दा महिला घरमूली २५.७ प्रतिशतले वृद्धि भएको र महिलाको सम्पत्तिमा २६ प्रतिशत स्वामित्व ग्रहण गरेको अवस्थामा महिला श्रम सहभागिता पनि ५४ प्रतिशत रहेको बताइएको छ ।
सो क्षमता विकास तथा सञ्जाल गठन कार्यक्रममा धनकुटा–५ का रेवती अधिकारी, धनकुटा–६ का मनिकुमार राई, सुमिन्द्रकुमार राई, तुलसी ढुङ्गाना, धनपा–७ का ठगेन्द्र लिम्बू, धनपा–१ का कुमार राईलगायतले लामो समय वैदेशिक रोजगारीमा गएर काम गरेको अनुभवहरू सुनाउँदै विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्नसके रोजगारी सिर्जना गर्न सहज हुने धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा धनपा–५ घर भई लामो समय वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका कोमल राईको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए । उक्त सञ्जालले पुस महिनाभित्र विधान बनाएर वैधानिक रूपमा संस्था दर्ता गरेर अघि बढ्ने निर्णय भएको पनि अधिकारीले बताएका छन् ।