धरान । तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल क्षेत्रमा भारी हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित बनेको तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवाले जानकारी दिए ।
उनका अनुसार भारी मात्रामा हिउँ परेका कारण बालबालिका, वृद्धवृद्धासँगै चौपायालाई सबैभन्दा बढी प्रभावित बनाएको छ । टिमएमजे क्षेत्र सेताम्मे बनेको उनले बताए । करिब एक फिटभन्दा बढी हिउँ परेको उनले बताए ।
हिमपात भए पनि दैनिक सवारीका साधन सञ्चालनमा आएका छन् । तर, चरनका लागि लगिने गाईवस्तु, बाख्रा, भेडा, च्याङ्ग्रालाई समस्या भएको स्थानीयको भनाइ उद्धृत गर्दै पाक्साँवाले जानकारी दिए ।
हिउँ परेका कारण बजार क्षेत्रमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको टुटे देउरालीका श्री कार्कीको भनाइ उद्धृत गर्दै उनले जनाए ।
पर्यटकहरू हिउँ खेल्नका लागि त्यस क्षेत्रमा जाने गरेका छन् । गुराँस फुल्ने र हिउँ पनि पर्ने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ । पर्यटकका लागि सहज भए पनि स्थानीयका लागि कष्टकर बनेको छ ।