धरान/ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत धरानमा सार्वजनिक यातायातका चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानको भानुचोकमा स्वास्थ्य जाँच गरिएको हो । कार्यक्रममा चालक तथा सहचालकको आँखा, मधुमेह र उच्च रक्तचापबारे स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर भूवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार सार्वजनिक यातायातका चालक तथा सहचालकहरू सयौंको जिन्दगी बोकेर हिँड्ने भएकाले उनीहरूको आँखा, मधुमेह र उच्च रक्तचापको अवस्थाबारे थाहा पाइरहनु पर्ने भएकाले पनि स्वास्थ्य जाँच गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका प्रतिनिधिहरूको सहयोगमा ८० जना सवारी चालकको स्वास्थ्य जाँच गरिएको थियो । त्यस्तै एक सयभन्दा बढी चालक तथा सहचालकलाई परामर्श पनि दिइएको थियो । पुस ४ गतेदेखि प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सपताहव्यापी कार्यक्रम सुरु भएको छ । प्रदेश १ का १४ वटै जिल्लामा कार्यक्रम भइरहेको छ । कार्यक्रमको समापन शनिबार हुँदै छ ।