धनकुटा । सात महिना देखी मुख र घाँटीको क्यान्सरले थलिएर हाल उपचार गराई रहेकी नेपाल आदिवासी जनजाति नगर महासंघ धनकुटाका उपाध्यक्ष इन्द्र लुङ्गेली मगरका धर्मपत्नी मिना लुङ्गेली मगरको उपचारको लागी बिहीबार आर्थिक सहयोग संकलन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समिति धनकुटाले उपाध्यक्ष लुङ्गेलीका श्रीमती मिनाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ३५ हजार नगद सहयोग गरेको हो ।
सहयोग रकम नगर महासंघका अध्यक्ष रविन खड्गी, सचिव दालमु शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष पार्वती राई लगायतले उपाध्यक्ष लुङ्गेलीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुनु ।
सो अवसरमा महासंघले संस्थागत रूपमा ३५ हजार, नगर महासंघ धनकुटाका सचिव दलामु शेर्पा २ हजार, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठले २ हजार, निवर्तमान अध्यक्ष पार्वती राईले १ हजार, ५ सय, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका निवर्तमान अध्यक्ष सन्तवीर लामा १ हजार, हालका फोनिज धनकुटा उपाध्यक्ष मानबी मोक्तान ५ सय गरी जम्मा ४२ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको नगर महासंघ धनकुटाका अध्यक्ष रविन खड्गीले बताए ।
उनले आफ्नो संस्थाको उपाध्यक्षको श्रीमती पैसाको अभावमा अस्पतालको शय्यामा छटपटाई रहेको र सहयोगको लागी याचना गरेकाले दिलै खोलेर सहयोग गरिएको बताए । उनले व्यक्तिगत रूपमा सहयोग गर्नु हुने महानुभावहरूलाई सो अवसरमा धन्यवाद दिँदै अन्य महानुभावहरूलाई पनि सहयोगको लागी अपिल गरेका छन् ।
हाल उपाध्यक्ष इन्द्र लुङ्गेलीका श्रीमती मिनाको क्यान्सर हस्पिटल चितवनमा उपचार भइरहेको छ र उनको उपचारमा हालसम्म ९ लाख भन्दा बढी खर्च भैसकेको बताइएको छ । धनकुटा नगरपालिका वडा नं. ४ घर भएका लुङ्गेली आफ्नो परिवार सहित विगत लामो समय देखी बसोबास गर्दै आएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समिति धनकुटाका अध्यक्ष रविन खड्गीको अध्यक्षतामा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी सहयोगी मनहरू तथा संघ संस्थाका अगुवाहरूले लुङ्गेली परिवारलाई सबै मिलेर सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन फोनिज धनकुटाका उपाध्यक्ष मानवी मोक्तानले गरेकी थिइन ।