विजयपुर । विवादका बीच सर्दु करिडोर निर्माणका लागि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सुनसरीले सर्वेक्षण सुरु गरेको छ ।

वर्षायाममा आउने बाढीको क्षतिबाट जोगाउन तटबन्ध निर्माण गर्नका लागि धरान–१७ सर्दु पुलबाट सर्वेक्षण सुरु गरेको हो । करिडोरलाई पर्यटकीयस्थलसमेत बनाउने उद्देश्य छ ।

स्थानीयहरूसँग भने हालसम्म सहमति हुन सकेको छैन । स्थानीयले बस्ती विस्थापित हुने गरी करिडोर निर्माण गर्न नहुने अडान लिएका छन् ।

स्थानीय विनोद राईले करिडोर निर्माण गर्दा कसैको उठीबास नहुने गरी गर्नु पर्ने बताए । उनले भने, ‘निर्माण गर्नु हुँदैन भन्ने होइन । कसैलाई मार्नु हुँदैन ।’ अर्का स्थानीय सीताराम राईले कसैलाई मार नपर्ने गरी निर्माण गर्नुपर्ने बताए । करिडोर सर्वेक्षणका लागि टोली आएपछि डेढ सयजति स्थानीय भेला भएको उनले बताए ।

धरान–१७ का अध्यक्ष मनोज भट्टराईले सर्वेक्षणका लागि चिन्ह लगाएको र सोही अनुसार सर्वेक्षण भए स्थानीय पनि सहमत हुने बताए । उनले भने, ‘अध्यक्षले देखाएको स्थानदेखि बाहिर निर्माण गर्नुपर्छ ।’

सर्वेक्षणका लागि आएका सिंचाइ विकास कार्यालयका इन्जिनियर कुमार किसलय कर्णले भने कम्तिमा १३ मिटरको करिडोर निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘बस्ती संरक्षणका लागि खोलामा तटबन्ध निर्माण गर्ने हो । अध्यक्षले देखाएको स्थानदेखि १३ मिटरमा निर्माण गर्दा सबै खोलामा पर्छ । तटबन्ध गरेको र नगरेको अर्थ हुँदैन ।’

उनले सिंचाइ विकास कार्यालयले हालको बस्ती खोलाकै जग्गा भएकोले त्यहाँ तटबन्ध निर्माण गर्ने बताउँदै तर, स्थानीयले खोलाको जग्गा अतिक्रमण गरेकाले समस्या उत्पन्न भएको बताए ।

परियोजनाको अनुमानित बजेट २५ करोड रहेको छ । हाल सर्वेक्षण सुरु गरिएको ५ किलोमिटर करिडोर निर्माणका लागि गत आर्थिक वर्षमा नै बजेट विनियोजन भए पनि निर्माण कार्य सुरु हुन सकेको थिएन । करिडोर निर्माणमा लागि प्यासिफिक जलजला कम्पनीले मूल्य अभिवृद्धि करबाहेक १० करोड ७२ लाख ६१ हजार ४४ रुपैयाँमा ठेक्का पारेको छ ।

कम्पनीसँग २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत भदौमा सम्झौता भएको थियो । गत भदौमा सम्झौता भए पनि कोरोनाका कारणले निर्माण कार्य सुरु हुन सकेको थिएन । सर्दु करिडोर वडा नं. १७, ११, १३ र १६ मा पर्छ ।