विराटनगर । उद्योगपति दीनबन्धु गोयलले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण गरेका छन् ।
विराटनगर–१९ धनपुरा खदरा टोलस्थित जागृति आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका १ सय २७ जना विद्यार्थीहरूलाई बिहीबार समाजसेवी गोयलले जाडाको न्यानो कपडा र जुत्ता वितरण गरेका हुन् ।
गोयलका दाजु ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडोमा न्यानो कपडासहित, जुत्ता, मोजा, स्कुलको पोसाक, स्वेटर तथा बिस्कुट १ सय २७ जना विद्यार्थीहरूलाई वितरण गरिएको स्कुलका प्रधानाध्यापक दधिराम नेपालले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी गोयलले सामुदायिक विद्यालयका धेरैजसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुको स्मृतिमा जाडोको न्यायो कपडा र विद्यालय पोसाक वितरण गरेको बताए ।
गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको उल्लेख गरे । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्नसके समाजमा सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने धारणा प्रकट गरे ।
समाजसेवी गोयलले मोरङ र झापामा रहेको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक विपन्न छात्र–छात्राहरूलाई प्रत्येक वर्ष जाडोमा न्यानो कपडा वितरण गर्नुको साथै जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि स्थापना गरी वितरण गर्दै आएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दधिराम नेपालले विपन्न विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा र जुत्ताले धेरै राहत पुग्ने बताए । नारी विकास सङ्घको संयोजनमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा सङ्घकी अध्यक्ष सीता शर्मा दाहालले ग्रामीण क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र जुत्ताले जाडोमा धेरै राहत पुग्ने बताए । सो विद्यालयमा ऋषिदेव, राजवंशी सामुदायका विपन्न परिवारका विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रबहादुर बस्नेत, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतको उपस्थित रहेको थियो ।