इटहरी उपमहानगरपालिका २० तरहरामा रहेको राष्ट्रिय जनसहयोग कलेजलाई हिमालयन बैंकले सहयोग गरेको छ । 

क्याम्पस प्रमुख द्रोण न्यौपानेका अनुसार बैँकको इटहरी शाखाले कलेजलाई एक सय थान कुर्सी सहयोगस्वरूप हस्तान्तरण गरेको हो । अहिले क्याम्पस स्थापनाको १३ औं वर्षमा रहेको र मुनाफारहित रहेकाले सहयोगकै भरमा समुदायबाट सञ्चालन रहेको न्यौपानेले बताए ।

सामुदायिक क्याम्पसलाई सरकारले योगदान नगरेको चिन्ता व्यक्त गर्दै उनले भने, ‘स्थापनादेखि हालसम्म अत्यन्तै उत्कृष्ट रिजल्ट ल्याएका छौँ, धेरैपटक प्रदेश प्रथम र नेपाल प्रथम समेत भएका छौँ ।’ उनका अनुसार क्याम्पसले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याएपनि सरकारले चासोका रूपमा नहेर्दा भौतिक संकटमा क्याम्पस सञ्चालन हुँदै आएको छ । 

कार्यक्रममा हिमालयन बैँक प्रदेश १ का प्रमुख अमृत मल्लले बैंकहरू पनि सेवा दिन नै आएका कारण क्याम्पसलाई सहयोग गरिएको बताए । ‘जुन ठाउँमा बैंकले नाफा कमाएका हुन्छन्, त्यही ठाउँमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यका साथ सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरिएको हो,’ उनले भने । 

कुर्सी हस्तान्तरण कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दलेन्द्र खड्काले हलमा हुने कार्यक्रमका लागि ठूलो सहयोग पुगेको बताए । उनका अनुसार करीब दुई सय मासिन अट्ने हल भएपनि कुर्सी अभावका कारण डेक्स ब्रेन्चमै बसेर कार्यक्रम गर्नुपर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा बैँकका इटहरी म्यानेजर सुनिल सापकोटा, डिपुटी प्रमुख रोचना भट्टराई क्याम्पसका संस्थापक अध्यक्ष मणिराम गिरी लगायतको उपस्थिति थियो ।