पथरीशनिश्चरे ।  महिलाको हक हितका लागि सक्रिय महिला पुनस्र्थापना केन्द्र (ओरेक) मा पछिल्लो १ वर्षमा महिला हिंसा सम्बन्धी १ हजार ७ सय ७२ वटा मुद्धा दर्ता भएका छन् ।

ओरेक नेपालको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले पथरी शनिश्चरेमा आयोजना गरेको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा सो तथ्यांक प्रस्तुत भएको हो ।  ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले तथ्यांक प्रस्तुत गर्दै १ हजार ७ सय ७२ मध्येमा ६३ प्रतिशत मुद्धा घरेलु हिंसा सम्बन्धी रहेको जनाइन ।

त्यसमा ३ सय २१ वटा मुद्धा सार्वजनिकस्थलको हिंसा रहेको तथ्यांक छ । १५ प्रतिशत सामाजिक हिंसा हुने गरेको छ । सार्वजनिकस्थलमध्येमा ४० प्रतिशत सार्वजनिक यातायातमा हिंसा हुने गरेको तथ्य फेला परेको पनि सुनाइन् ।

अपरिचितबाट सवैभन्दा बढी २६ प्रतिशत, सेवा प्रदायकबाट १३ प्रतिशत, शिक्षक, सहकर्मी र साथीबाट १२ प्रतिशत, शक्तिशाली व्यक्तिबाट १२ प्रतिशत, परिचितबाट ९ प्रतिशत हिंसा हुने गरेको पाइएको छ । ३५ प्रतिशतले हिंसा चुपचाप रहने, १२ प्रतिशतले घटनास्थलमै आवाज उठाउने गरेको पाइएको छ ।

चुपचाप सहनुको २५ प्रतिशत कारण सामाजिक र सांस्कृतिक पक्ष भएको अध्ययनले देखाएको छ । हिंसा भएको थाहा पाएपनि त्यही सामाजिक र साँस्कृतिक पक्षका कारणले समेत ३४ प्रतिशत परिवारले असहयोग गर्ने गरेको देखिएको उनले उल्लेख गरिन् ।

भन्छिन् ‘यस्लाई यस्ले यस्तो गर्यो भन्दा उल्टै अरुले नराम्रो हिसावले हेरिदिने पुरुष प्रधान समाजको सामाजिक र सांस्कृतिक पक्षका कारण हिंसा सहेर वस्नु पर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ भनेर हामीले वकालत गरिरहेका छौं ।’

यतिसम्मकी महिला अधिकारको क्षेत्रमा क्रियाशील संस्थाकै अगुवा भण्डारीले आफुमाथि जिल्लाका विभिन्न ठाउँमा सचेतना कार्यक्रममै जाने क्रममा समेत एसएमएसमा हिंसाजन्य व्यवहार प्रस्तुत भएको तितोसत्य उनले कार्यक्रममा राखिन् ।

  ‘सुरक्षित सार्वजनिकस्थलः मेरो मानव अधिकार’ भन्ने नारा अघि सार्दै ओरेकले जिल्लाका विभिन्न पालिकामा सचेतनामुलक कार्यक्रमका रुपमा सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ । यस क्रममा पथरी शनिश्चरेको ‘सार्वजनिकस्थलमा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बोधन कार्यक्रम अन्तर्गतको सार्वजनिक सुनुवाई’ मा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताइन् ।

न्यायिक समितिमा पनि अधिकांश महिला हिंसाका उजुरी आउने गरेको उल्लेख गरिन् । साथै उनले पछिल्लो समयमा पुरुषहरु समेत हिंसामा परेको प्रसंग अघि सार्दै जो कोहि पनि हिंसामा पर्न नहुने ठहर गरेर नगरपालिकाको न्यायिक समितिले कानूनी सचेतना सहितका हिंसा अन्त्य गर्नेखाले कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन् ।

  कार्यक्रममा बोल्दै नेकपा एमालेका रमेश दहाल, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा समाजबादीका देवेन्द्र वनेम, शिक्षिका भूमिका मगर सहितले हिंसा अन्त्य गर्न प्रतिवद्धता व्यक्त गरे ।

 कार्यक्रममा, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्काले महिला तथा किशोरी हिंसाका घटनाका दोषीलाई कारवाही गर्न प्रहरीले प्राथमिकता दिइरहेको बताउँदै सवै नागरिक आफु समेत सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागि महिला तथा किशोरीहरुले आफुहरुमाथि भएका हिंसाका घटनाहरु सुनाएका थिए ।

 फेडेरेशन उपाध्यक्ष निर्मला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी सविता पोखरेल र ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दै सहजिकरण गरेका थिए । नगरपालिकाको सहयोगमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसँग जोडेर ओरेकको समन्वयमा महिला फेडेरेशनले नगरका ३ स्थानमा प्रभावकारी रुपमा कचहरी नाटक ‘दोषी को ?’ प्रस्तुत गर्यो । भूपेन्द्रराज तिम्सिनाको लेखन र जीवन बरालको निर्देशनमा शब्द थिएटरका कलाकारहरुको प्रस्तुतिले सार्वजनिक यातायात, विद्यालय, सडक सहितका क्षेत्रमा हुने गरेको महिला हिंसाको घटनालाई जिवन्त रुपमा प्रस्तुत गर्दै सहभागिबाटै कचहरी गराइ समाधान खोजिएको थियो ।