धरान । रामधुनी नगरपालिका–२ स्थित शिवनगरमा पूर्वका थारू चौधरी समुदायका इतिहास, संस्कृति, संस्कार र जीवनशैली चिनाउने थारू सङ्ग्रहालय आकर्षणको केन्द्र बन्न थालेको छ ।

सङ्ग्रहालय स्थापना भएको तीन वर्षमात्र भएकाले थारू समुदायको जीवनशैली चिनाउने सामग्रीहरू सङ्कलन गरेर प्रदर्शनीमा राख्ने काम भने जारी रहेको छ । सङ्ग्रहालयमा पुर्वका थारू चौधरी समुदायको इतिहास, कला, संस्कृतिलाई जीवन्त राख्न सजाइएका पुराना र मौलिक सामग्री, भित्तामा बनाइएका चित्रको अवलोकन गर्न भीड लाग्ने गरेको छ । सङ्ग्रहालयमा दैनिक आन्तरिक र वाह्य पर्यटकहरू आउने गरेका छन् । रामधुनीमा थारू सङ्ग्रहालय भवन निर्माण गर्न र पुराना सामग्री जुटाउँदै आएका शिवनगर माविका पूर्व प्रधानाध्यापकसमेत रहेका आदिवासी जनजाति सङ्ग्रहालयका अध्यक्ष फागुलाल चौधरीले भने, ‘थारू सङ्ग्रहालयको महŒव विस्तारै बढ्दै छ । डिजिटल र मोबाइलमा रमाउने नयाँपुस्ताका युवायुवतीहरूले पनि चासो लिन थालेका छन् । नयाँपुस्तामा आफ्नो इतिहास र संस्कार एवम् संस्कृति झल्काउने सङ्ग्रहालयप्रति आकर्षण बढ्नु हाम्रो लागि खुसीको कुरा हो ।’

उनका अनुसार सङ्ग्रहालयभित्र पूर्वका थारू चौधरी समुदायको जन्मदेखि मृत्युसम्मका गतिविधिमात्र समेटिएका छैनन्, इतिहास र कला, संस्कृतिलाई पनि समेट्ने प्रयास गरिएको छ । सामग्री नभेटिएको अवस्थामा त्यसलाई जनाउन सङ्ग्रहालयको भित्तामा चित्र र मूर्तिमार्फत् पनि चिनाउने प्रयास गरिएको अध्यक्ष चौधरीले बताए । उनले भने, ‘थारू चौधरीहरूलाई नै पनि आफ्नो मौलिक पहिरन, कला, संस्कृति थाहा नहुन सक्छ । यो सङ्ग्रहालयले उनीहरूलाई मौलिकताको ज्ञान दिन्छ भने गैरथारू चौधरी समुदायलाई थारू को हुन् र कस्तो हुन्छ मौलिक जीवन शैली भन्ने जानकारी दिन्छ ।’

भित्ताहरूमा गाउँको झल्को दिने परम्परागत घर, देउताघर, इनार, माछापोखरी, थारू समुदायका संस्कृति र संस्कारलाई झल्काउने चित्र कुँदिएका छन् । सङ्ग्रहालयलाई थारू समुदायको रहन–सहन, खानपान, कला र संस्कृतिको अध्ययन गर्ने थलोको रूपमा विकसित गर्दै नमुना सङ्ग्रहालय बनाउने योजना रहेको छ । सङ्ग्रहालयमा थारू समुदायले कृषिकर्म र यातायातको रूपमा प्रयोग गरेका ६० वर्ष पुरानो गोरुगाडा, सन्दुक (बाकस), माटाका पुराना परम्परागत भाँडाकँुडा, चुलो, जमिन जोत्न र खन्न प्रयोग हुने औजारहरू, ढकियालगायतका परम्परागत सामग्रीहरू राखिएका छन् । मुसहर, सरदार र चौधरी जातिले पुज्ने भगवान्को प्रतिमासमेत राखिएको छ ।

thaaru

थारू समुदायले प्रयोग गरेका ऐतिहासिक मौलिक सामग्रीहरू भेटेसम्म राखिएका छन् । पुराना गरगहना महँगो पर्ने भएको र सङ्ग्रहालयमा राख्न पनि समस्या हुने भएकाले निकट भविष्यमा नक्कली गरगहना, भेषभूषा आदि राख्ने तयारी भएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार सुनसरीको रामधुनी आसपासमा बस्ने समुदायमध्ये करिब ६० प्रतिशत थारू चौधरीहरूको बस्ती छ । यहाँ उनीहरू करिब चारसय वर्षदेखि बसोबास गर्दै आएको चौधरीले बताए ।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष धीरेन्द्र चौधरीले आधुनिकताको प्रभावमा परेर पूर्वका थारू चौधरी समुदायका मौलिक भाषा, कला, संस्कृति र संस्कार लोप हुँदै गएकाले संरक्षण, प्रवद्र्धनका लागि सङ्ग्रहालयको निर्माण गरिएको बताए । उनले भने, ‘थारू समुदाय कला र संस्कृति, भाषा, भेषभूषाका धनी भए तापनि आधुनिकताको प्रभावमा परेर ती मौलिकताहरू सबै लोप भइरहेका छन् । आफ्ना पुर्खाले र आफ्नो समुदायको बारेमा यो सङ्ग्रहालयले जानकारी दिनेछ ।’

रामधुनीको शिवनगरमा सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ, रामधुनी नगरपालिकाले ७ लाख रुपैयाँ र जनस्तरबाट ८ लाख रुपैयाँ गरी ४५ लाख रुपैयाँको लागतमा काम सम्पन्न भएको छ । सङ्ग्रहालयमा रहेका चित्र स्थानीय चित्रकार हरिशङ्कर चौधरीले बनाएका छन् भने सुरेशकुमार चौधरीले मूर्तिहरू बनाएका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष रामकुमार माण्डुपाले थारू समुदायको अध्ययन गर्न चाहनेका लागि समेत सङ्ग्रहालय महत्वपूर्ण रहेको बताए ।