धरान । सार्वजनिक खरिद ऐन नियम विपरीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादास्पद पदाधिकारीहरूले नयाँ आइसियु र भेन्टिेलटर खरिद प्रक्रिया अगाडि बढाएका छन् ।

उनीहरूले इटहरी ठेगाना भएको एमबी मेडिटेक प्रालिले ठेक्का पाएको भ्याटबाहेक १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाँको ३० थान आइसियु र भेन्टिलेटर खरिद प्रस्ताव स्वीकृत गरेका छन् । सरकारले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहलाई बर्खास्त गर्ने अन्तिम प्रक्रिया चलाइरहेको बेला कमिसनका लागि मेडिटेकलाई आइसियु र भेन्टिलेटर आपूर्ति गर्न ठेक्का स्वीकृत गरेको हो ।

पदाधिकारीहरूले स्वीकृत गरेको मेडिकल उपकरण गत ६ महिनाअघि नै आपूर्ति गर्नुपर्ने थियो । कोरोना महामारीको दोस्रो लहर चलेका बेला सङ्क्रमितको उपचार गर्न भनेर प्रतिष्ठानले गत असार पहिलो सातामै ई–टेन्डर विज्ञापनसमेत प्रकाशित गरेको थियो । एक साताको अवधि राखेर जारी गरेको ई–टेन्डरमार्फत् तत्काल आइसियु र भेन्टिलेटर खरिद गर्ने भनिएको थियो । तर, त्यसो नभएर बीचैमा रोकिएको थियो ।

पछिल्लो समयमा पदाधिकारीको कुर्सी नै धरापमा परेको बेला अचानक मङ्सिर ८ गतेको मितिमा मेडिटेकलाई खरिद प्रक्रिया स्वीकृत गरेर आपूर्तिका लागि आसय पत्र लेखेको ब्लाष्टलाई प्राप्त भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक साहले मेडिकल उपकरण आपूर्तिका लागि मेडिटेकलाई आसय पत्र लेखेका छन् । उनले उपकुलपति गिरी र शिक्षाध्यक्ष खनालको मिलोमतोमा सार्वजनिक खरिद ऐन विपरीत पाँच करोड बढी बोलकबोल गर्ने कम्पनीलाई आसय पत्र लेखेका छन् ।

मेडिटेकले भ्याटबाहेक १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाँमा आइसियु भेन्टिलेटर आपूर्ति गर्ने कबोल गर्दा अर्का प्रतिस्पर्धी कम्पनी मेडिकल सोल्युसनले ११ करोड ४२ लाख रुपैयाँ कबोल गरेको थियो ।

सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिएर खरिद स्वीकृति दिनुपर्ने हुन्छ । तर, प्रतिष्ठानका पदाधिकारीको कुर्सीमा बसिरहने टुङ्गो नलागेको अवस्थामा मूल्याङ्कन समितिले सार्वजनिक खरिद ऐनअनुसार मेडिकल उपकरण खरिद प्रक्रिया अगाडि बढाउनू भन्ने सुझाव विपरीत कानूनी सल्लाहकार शान्तिराम भण्डारीले दिएको सुझावको आधारमा मेडिटेकलाई ठेक्का दिएको प्रतिष्ठान स्रोतले बतायो ।

प्रतिष्ठानमा टेन्डर भई ठेक्का स्वीकृत भएको १४ महिनापछि गत सातामात्र आपूर्ति गरिएको २ सय ५६ स्लाइसको सिटीस्क्यान मेसिन पनि उपकुलपति गिरीले एमबी मेडिटेक प्रालि सम्बद्ध कम्पनीबाटै खरिद गरेको बुझिएको छ । उक्त मेसिन आपूर्ति गर्न गिरीले म्याक्स मेडिटेक कम्पनीलाई कुल १६ करोड रुपैयाँको ५० प्रतिशत अग्रिम भुक्तानी १४ महिनाअघि नै दिएका थिए ।

उपकुलपति गिरीका भाइ अजय गिरीले आफ्ना दाजुमाथि भइरहेको कारबाही रोक्न प्रधानमन्त्री कार्यालय धाउँदै आएका छन् । उनले प्रधानमन्त्री कार्यालयका लागि ३ करोड रुपैयाँ र स्वास्थ्य मन्त्रीलाई २ करोड बुझाउनु पर्ने रकम निकाल्न प्रतिस्पर्धी कम्पनीले भन्दा ५ करोड रुपैयाँ बढी रकम कबोल गर्ने एमबी मेडिटेकलाई ठेक्का स्वीकृत गर्ने निर्णय गराएको स्रोतले बतायो ।

स्रोतका अनुसार उपकुलपति गिरीलाई साथ दिँदै आएका खरिद शाखा प्रमुख सागर ताम्राकार, लेखा प्रमुख मोहन राई, बायोमेड शाखा प्रमुख इञ्जिनियर राहुल मिश्रले पनि कमिसनकै प्रलोभनमा परेर मेडिटेकलाई ठेक्का दिएको रहस्य खुलेको छ । जब कि उपकुलपति गिरीले प्रतिष्ठानको कार्यकारिणी समितिमा कुनै निर्णय नगराई आफैले स्वीकृत गरेको आधारमा मेडिटेकले ठेक्का पाएको हो ।