धरान । सिभिल बैङ्क धरान शाखाले ११ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरान–९ आचार्यलाइनस्थित कार्यालय परिसरमा गरिएको रक्तदानमा ४ महिलासहित ६० जनाले रक्तदान गरेका थिए । रक्तदातालाई बैङ्कले प्रमाण–पत्र पनि प्रदान गरेको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको शाखाकी प्रबन्धक पुनम साहले जानकारी दिइन् ।

बैङ्कको वार्षिकोत्सवको अवसरमा प्रदेश १ का २१ शाखामध्ये पाँचवटा शाखाले रक्तदान कार्यक्रम गरेको हो । धरान, विराटनगर, इटहरी, बिर्तामोड र फिदिम शाखाले रक्तदान कार्यक्रम गरेको प्रबन्धक साहले बताइन् ।

बैङ्कको कुल १ सय १७ वटा शाखा छन् । रक्तदान कार्यक्रमको उद्घाटन धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीले गरेका थिए । रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।

त्यस्तै उर्लाबारी नगरका तीन वटा संस्थाले स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा १ सय ९३ रक्तदाताले रक्तदान गरेका छन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ स्थापना दिवसमा गरिएको रक्तदानमा ६५ युनिट रगत सङ्कलन भएको व्यवस्थापक चक्रबहादुर खड्काले बताए ।

त्यस्तै गरिमा विकास बैङ्क उर्लाबारी शाखाले १५ औ“ स्थापना दिवसमा ३७ युनिट रगत सङ्कलन भएको प्रबन्धक वेदप्रसाद बास्तोलाले बताए । त्यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले रजत महोत्सवमा गरेको रक्तदान कार्यक्रममा ९१ युनिट रगत सङ्कलन भएको कार्यक्रम सञ्चालिका मीरा राईले बताइन् ।