‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’  यो सुन्दा अनौठो लाग्न सक्छ ।   ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हुँदै आएको छ । 

यातायात अन्तर्गत सवारीसाधन र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी गर्ने गरिएको छ । पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै नै सजिलो रहेको छ । करिब दुई मिटर चौडा र पैदलयात्रा सहज हुनेगरी वारपार ढुङ्गा विछ््याइएको छ । 

पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ । करिब अढाइघण्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । 

यद्यपि, उकालो र ओरालो हिँड्नुपर्ने हुँदा ज्येष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुनेगर्दछ । पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपियाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । 

धामदेखि पुनःफेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एकसय रुपियाँ नै तिर्नुपर्ने हुन्छ । भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आएका पासाङ शेर्पाले अनुमानमा दुई/चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोही अनुसार ढुवानी रकम लिने गरेको जानकारी दिए। भरिया सुविधा १५–२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उनले बताए । धेरै तौल हुने तीर्थयात्रीलाई तीन/चार जनाको समूह मिलेर बोक्ने गरेको भरिया बताउछन् ।

उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्नलाई गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरुको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्यूनतम् तीन हजार रुपियाँ रोज बस्ने पनि उनीहरु बताउछन् । भरियाको कार्य गर्नलाई तीनसय बढीले सम्पर्क गरेका भए पनि अहिले दसैँ तिहारको मौसममा करिब एकसय जना नियमित खटिदै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घले जनाएको छ । 

भरियाको काम गर्नेमा केही महिलासमेत रहेका छन् । तीर्थयात्री र उनीहरुको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् । अहिलेको पाथीभरा दर्शनको मुख्य मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ । भरियासुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ ।

 यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा रहेको छ । त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौँ, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीले दिँदै आएका छन् ।