कोरोना संक्रमण न्युनिकरणका लागि भएको लामो लकडाउनले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । यति बेला भेडेटारमा आन्तरिक पर्यटकहरुको आगमन बढेको व्यवसायीहरुले बताएका छन् । 

कोरोना संक्रमण कमहुदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि विस्तारैे आन्तरिक पर्यटकहरु साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटकहरु बढेको होटल एसोसिएन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । 

विरैस्ता पर्यटकहरु घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीहरुको भनाई छ ।  भेडेटारमा दुई वटा स्टार होटलहरु खुल्ने चरणमा छन् । पर्यटकहरु आसपासका क्षेत्र घुमाएर सुविधा सम्पन्न होटलमा राख्न यि होटल शुरु भए पछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताए । 

गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरि रहेको उनले बताएका छन्। पर्यटकहरुका लागि बुटिक जोन, वाईफाई जोनहरु बनाएको छ । फुलबारी जोन बनाउने तयारी भइरहेको छ । गाउँपापलिकाले साँगुरीगढी क्षेत्रका १६ वटा महत्वपूर्ण स्थानको पहिचान गरि पोइन्ट बनाएको छ । भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने ६ नम्बर वडाका वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिए । 

 होटल व्यवसायी रुदालीका अनुसार अनुसार कोरोना नहुँदा दैनिक एक हजार पर्यटकहरु पहाडतर्फ उक्लने गर्दथे । तर, लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटल व्यावसाय ठप्प भएको थियो । दशै अगाडडीदेखि भने चहलपहल बढेको छ । कोराना संक्रमण कम भएपछि सुरक्षा सर्तकता अपनाउदै पर्यटकहरु पनि घुमफिर गर्न थालेपछि होटलहरु पनि विस्तारै सञ्चालन हुन थालेका छन् । व्यवसायीहरुले पनि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको व्यवसायी रुम्दालीले बए। 

जोमनी नाका खुल्ला भए पछि भेडेटारमा  भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु आकर्षित हुने गरेका छन् । 

भेडेटारको पर्यटनबारे छलफल 

झण्डै दुई बर्षदेखि पर्यटन सम्बन्धि औपचारिक कार्यक्रम नभएको भेडेटारमा शनिवार र आइतबार पर्यटनबारे छलफल भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा साँगुरीगढी गाउँपालिकाको पर्यटकी सम्भावना र अवसरबारे छलफल गरिएको हो ।

प्रदश १ अध्यक्ष लिलाबल्भव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा साँगुरीगढी गाउँपालिकाले हालसम्म पर्यटन प्रवद्धनका लागि गरेको कार्यविवरण प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्तुत गरे । उनले भेडेटारमा निकट भविष्यमा स्काई वाल्क बनाउन लागिएको बताए । प्रदेश सरकारसँगको सहकार्यमा हाल भएको चाल्स भ्युुटावर भएको स्थानमा स्काई वाल्क बन्न लागेको हो । साँगुरीगढी गाउँपालिकामा अकवरे खोर्सानी उत्पादन हुदैं आएको छ । उक्त खोर्सानी ब्राण्डिङ गरि झोला बनाएर विक्रि वितरणका तयारी थालिएको उनले बताए । 

कार्यक्रममा नाम्जेको होम स्टेबारे नाम्जे थुम्की सामुदायिक होम स्टेका अध्यक्ष अनिल रानाले जानकारी गराए। स्वास्थ्य मापदण्ड अपनाएर होम स्टेहरुले सुविधा दिइरहेकाले नाम्जे बास बस्दैं आउन उनले आग्रहसमेत गरे। ९७ प्रतिशत मगर जातीको बसोबास रहेको नाम्जेमा मगर जातीको मौलिक संस्कृति भाषा परम्परा बुझन पनि सकिने रानाले बताए । यहाँ करिव ४० जनासम्मको क्षमताको होम स्टे संचालनमा छ ।

कार्यक्रममा होटल एसोशिएसनका अध्यक्ष रुम्दालीले भेडेटारको होटल व्यवसाय र पर्यटकहरुको चहलपहलबारे जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इक्वाल अहमद, प्रदेश सल्लाहकार विक्रम लुइटेल, महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईलगायतले भेडेटारको पर्यटनबारे बोल्नु भएको थियो । 

पत्रकार महसंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङको संयोजनमा भएको कार्यक्रममा १४ वटै जिल्लाका विभिन्न सञ्चार संस्थामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।