धरान । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रिएसनले ग्राण्ड फिनालेको प्रेस पे्रजेण्टेसन कार्यक्रम गर्दै प्रतियोगीलाई सार्वजनिक गरेको हो ।

प्रतियोगीले उपस्थित दर्शकमाझ आफ्नो परिचय र भविश्यको उद्देश्य राखेका थिए । प्रतियोगीले आत्महत्या, यौनशिक्षा, महिनावारी, डेण्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाएको २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिनेछन् ।

छनौटका लागि ५० प्रतिशत अङ्क प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’ को पिपल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्राण्ड फिनालेको भिआईपी टिकटसमेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दियो ।फाइनल कात्तिक १३ गते हुने जनाइएको छ ।

शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । गतवर्ष ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।