भरौल । उपप्रमुख कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि तयारी गरिरहेका वराहक्षेत्रका महिला खेलाडीलाई नगरले खेलकुद सामग्री वितरण गरेको छ । 

नगरले २ लाख २५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री दिएको हो । नगर प्रमुख निलम खनाल तथा वराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक एवम् ४ नम्बर वडाका अध्यक्ष आशाराम चौधरीले सामग्री प्रदान गरे । यतिबेला वराहक्षेत्रका महिला खेलाडीहरू अभ्यासमा रहेका छन् । नगर प्रमुख खनालले चाडपर्वको बेला रमाइलो गर्नुपर्नेमा अभ्यास गरिरहनुजस्तो कठिन काम गरिरहेकामा धन्यवाद दिए । 

खेलाडीहरूलाई प्रशिक्षणको क्रममा खेलाडीहरूलाई खेलको कौशल र सीप सिक्नका लागि खेलकुद विकास समितिका संयोजक चौधरीले आग्रह गरे । सुनसरी जिल्ला फुटबल सङ्घका महासचिव तथा प्रदेश न १ खेलकुद परिषदका सदस्य भेषराज कार्कीले खेलाडीहरूलाई प्राविधिक खेलबारे जानकारी गराए । सूर्य तुम्बाहाम्फे लिम्बू र जीवन धामीले प्रशिक्षण गराइरहेका छन् । प्रतियोगिता यही कात्तिक ४ गतेबाट सुरु हुँदै छ ।