इटहरी । इटहरी उपमहा नगरपालिकाको मुख्य बजार आसपासमा रहेका दर्जनौं मासु पसलहरू अव्यवस्थित र खुल्ला रूपमै सञ्चालन हुँदै आएका छन् । अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी बिक्री वितरण गर्दै आए पनि नियमनकारी निकायले वर्षौंदेखि निर्देशन मात्र दिँदै आएको छ ।

व्यावसायिक रूपमा मासु बेच्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने भए पनि इटहरी चोक आसपासमा पाइने यस्ता पसल स्वास्थ्यलाई प्रतिकूल असर गर्ने मासु पसल सञ्चालन हुँदै आएका छन् ।

नागरिकको स्वास्थ्यलाई असर गर्ने गरी खुला ठाउँमा धुलो धुवाँसहित अव्यवस्थित रूपमा सञ्चालन भइरहेका मासुपसल व्यवस्थित गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । वर्षमा एक पटक चाडपर्वको बेलामा हुने बजार अनुगमन पनि नामै मात्रको छ ।

मासु पसलको सामान्यतया पर्याप्त क्षेत्रफल हुनुपर्ने, पसलमा सजिलै फोहोर देख्न मिल्ने सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापनको उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज, डिजिटल तराजु हुनुपर्ने नियम भए पनि अधिकांश पसलले यी सामान्य नियमसमेत पालना गरेका छैनन् ।

नेपालीहरूको महान् पर्व नजिकिएसँगै बिहीबार इटहरी बजार अनुगमन गरेको छ । इटहरी बजारको बसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गर्दा कुनै पसलमा पनि मूल्यसूची नभएको पाइएको छ । उपभोक्ता हित संरक्षण समितिका संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको थियो । सातवटा मासु पसल अनुगमनका क्रममा एउटा पसलबाट तीन केजी पुरानो बोसो जफत गरी नष्ट गरिएको छ । दुई वटा पसलले व्यवसाय नवीकरण नगरेको भेटिएको छ ।

यसअघि अनुगमन गरिएका मासु पसलहरूमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवलकिशोर भट्टराईले जानकारी दिए ।

बधशालाको कन्तबिजोक
इटहरी बजारभरि जथाभावी सामान्य मापदण्डसमेत पूरा नगरी मासु पसलहरू सञ्चालनमा आए पनि इटहरीमै कराडौं लगानीमा निर्माण भएको व्यवस्थित बधशालाको भने कन्तबिजोक छ ।

बधशालाकै लागि बनाएको भौतिक संरचनाहरू अझै प्रयोगविहीन छन् । लामो समयदेखि बधशाला सञ्चालनमा नआउँदा करोडौं लगानीमा बनाइएको बधशाला लथालिङ्ग हुन पुगेको छ ।

आवास तथा सहरी विकास विभाग तथा कृषि विकास विभाग र इटहरी उपमहानगरको ३ करोड बढी साझेदारीमा इटहरीको मुख्य बजार क्षेत्रमा निर्माण सम्पन्न भएको इटहरी पशु बधशाला तथा तरकारी र फलफूल बजारस्थल यतिखेर दुर्गन्धित र अव्यवस्थित छ ।