धनकुटा । कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो प्याकेज निर्माण पूरा भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैङ्कद्वारा धनकुटाको हिलेमा पत्रकार भेटघाट गर्दै बुधबार पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवादेखि सङ्खुवासभाको तुम्लिङटारसम्मको विद्युत् प्रसारण लाइन पूरा भएको जनाएको छ । कोसी करिडोर तीन प्याकेजमा निर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको वसन्तपुर, चैनपुरको बानेश्वर हुँदै तुम्लिङटारसम्म डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ तार तान्ने कार्य सम्पन्न भएको कार्यकारी प्रमुख घिसिङले बताए ।

त्यस्तै दोस्रो प्याकेज अन्तर्गत वसन्तपुर, तुम्लिङटार तथा बानेश्वरमा सव–स्टेशनहरू निर्माण तथा तेस्रो प्याकेज अन्तर्गत तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुसम्म डबल सर्किट टावर निर्माण गर्ने, टावरको एकतर्फ तार तान्ने र सव–स्टेशनहरू बन्ने काम अन्तिम चरणमा पुगेको घिसिङले बताए ।

कोरोना महामारीका कारण प्रसारण लाइन निर्माणमा केही ढिलाइ भए पनि सबैको सहयोगले १ सय ६ किलोमिटर लामो कोसी करिडोर २२० केभी  प्रसारण लाइनको काम सम्पन्न गर्न सहज भएको बताए । हालसम्म परियोजना सञ्चालन गर्ने क्रममा सुनसरीदेखि सङ्खुवासभासम्म ३ सय २६ वटा टावर निर्माण गरिएको बताए ।

कार्यक्रममा प्रसारण लाइन निर्माण कम्पनीका निर्देशक विश्वजितले विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई आयोजनाको चाबी हस्तान्तरण गरेका छन् ।

११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैङ्कले दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । नेपालका लागि भारतीय दुतावासका उप–प्रमुख नाम्ग्या खम्पाले समयमा नै परियोजना सफल पार्न लागिपर्ने सबैलाई धन्यवाद दिए ।