धरान/  धरान उपमहानगरपालिकाले स्थायी बसोबासको व्यवस्था गर्न नसक्दा विष्ण्ुापादुकास्थित आँपटारका पहिरो पीडितहरू एक वर्षदेखि टेण्टमा बस्न बाध्य छन् । गत वर्षको असोज ३ गते आँपटारमा जमिन धसिएपछि ७ घर विस्थापित भएका थिए । विस्थापित भएकाहरू आँपटार नजिकैको चिहान डाँडामा टेण्टको भरमा बस्दै आएका छन् । उनीहरू बसेको स्थल ऐलानी भए पनि वसन्त लिम्बूले भोगचलन गर्दै आएको जग्गा हो ।

उपमहानगरपालिकाले पहिरोबाट विस्थापित परिवारलाई दीर्घकालीन व्यवस्था गर्न ध्यान दिन नसक्दा एक वर्षदेखि टेण्टमा बस्न बाध्य भएको पीडितहरूको भनाइ छ । सात घर विस्थापित  भएकामध्ये हाल चिहान डाँडामा ६ घर परिवारका २९ जना टेण्टमा बस्दै आएका छन् । विस्थापित रामबहादुर राईले भने, ‘चाडबाड आउन लाग्यो । तर, खाने चामल छैन ।

दशैं, तिहारमा छोराछोरीलाई लुगासमेत किनिदिने पैसा छैन ।’ स्थानीय सरकारका जनप्रतिनिधि र नेताहरूले आश्वासनमात्र दिएको उनीहरूको आरोप छ । पहिरो गएर विस्थापित भएको बेला स्थानीय दाता, रेडक्रसलगायतले खाद्यान्न, लत्ताकपडा, भाँडा, थाल सहयोग गरेका थिए । उनीहरूलाई तत्कालका लागि चिहान डाँडामा टेण्ट बनाइदिएर राखे । तर, गत वर्ष लगाएको टेण्ट थोत्रिएर च्यातिन थालेपछि पानी चुहिन थालेको राईले बताए  ।

पहिरोबाट विस्थापितहरूमा सवालमान राई, वीरकुमार राई, रामबहादुर याक्खा, रामबहादुर राई,  बस्तीलाल राई, नन्दलाल यादव र सत्यकुमार राई रहेका छन् । तीमध्ये सत्यकुमार राई भने आँपटारमै घर मर्मत सम्भार गरेर बसेका छन् । ६९ वर्षीया फूलमाया राईले भनिन्, ‘एकवर्ष भयो यो थोत्रो टेण्टमा बसेको ।

हावाहुरी आउँदा उडाई लैजाला भन्ने डर हुन्छ । हिउँदमा जाडो कटाउन गाह्रो भयो । बर्खामा पानीले भिजेर बस्नुप¥यो । यस्तो बिजोक त कसैले पनि भोग्न नपरोस् ।’ उनले आफूजस्ता विस्थापितहरूलाई धरान उपमहानगरपालिकाले दशैं, तिहारमा खाने चामल, तेल, नुन र लत्ताकपडाको व्यवस्था गरिदिनुपर्ने माग गरिन् । उनले भनिन्, ‘हामी पनि यो नगरपालिकाको जनता हौं । मतदाता नै हौं । पहिरो पीडितलाई झन् सहयोग गर्नुपर्ने हो तर, कसैले वास्तै गर्र्दैनन् ।’

विस्थापितहरूलाई चाँडै व्यवस्थापन गर्ने भनेर उपमहानगरपालिकाले आश्वासनमात्र दिँदै आएको ७१ वर्षीय मानबहादुर राईले बताए । उनले भने, ‘मेयर तिलक राई आएका थिए । उनले जग्गा खोज्नुस् घर बनाइदिन्छौं भने । बिहान बेलुकाको छाक कसरी टार्ने चिन्ता भएको बेला जग्गा कता खोज्ने ?’ विस्थापितहरूलाई नगरपालिकाले व्यवस्था गरिदिनु पर्नेमा बेवास्ता गरेको उनले गुनासो गरे ।

मुख्यमन्त्री बनिनुअगाडि भीम आचार्य पनि विस्थापितको अवस्था हेर्न पुगेका थिए । उनले उपमहानगरपालिकाले जग्गाको व्यवस्था गरिदिए घर निर्माणमा पहल गरिदिने आश्वासन दिएका थिए ।

पीडित दीपासरीले भनिन्, ‘अहिले उहाँ मुख्यमन्त्री बन्नुभएको छ । हाम्रो बिजोक सुनिदिए हुन्थ्यो ।’ विस्थापितहरूका समस्या समाधान गर्न उपमहानगरपालिकाले विस्थापित घरका एक जनालाई धरानका २० वटा वडामध्ये ७ वटा वडामा ज्यालादारी वा करारमा पियनको जागिर दिनुपर्ने उनले माग गरिन् ।