धनकुटा । युएनडिपी र धनकुटा नगरपालिकाको सहयोग तथा देउराली यूवा क्लवको आयोजनामा धनकुटा नगरपालिका भित्रका तीन पर्यटकीय तथा धार्मिक स्थानहरुमा विभिन्न प्रजातिका विरुवा रोपिने भएको छ ।
धनकुटा सदरमुकाम नजिकै रहेको चुलिवन डाँडामा वृक्षारोपण गर्दै धनकुटा शहर स्वच्छ र हरित सहर अभियान (Clean and Green Dhankuta City
Campaign) अभियानको सुरुवात गरिएको हो । धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगवहादुर आठपहरियाले अमला र बकाइनोको विरुवा वृक्षारोपण गरेर शुक्रवार अभियानको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, वन कार्यालय धनकुटाका प्रतिनिधि दिनेश अमात्य, कागते रेञ्जर पोष्टका प्रतिनिधि विना राई, देउराली यूवा क्लवका स्वयम्सेवकहरुले वृक्षरोपाण गरेका थिए । कार्यक्रम देउराली यूवा क्लवका कार्यवाहक अध्यक्ष उदिप राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्लवमा आवद्ध सय भन्दा वढि सदस्य तथा स्वयमसेवकहरु परिचालन गरेर आगामी दुई महिना भित्र ती स्थानहरुमा विरुवा रोप्ने योजना रहेको कार्यवाहक अध्यक्ष उदिप राईले ब्लाष्टलाई बताए ।
वि.सं.२०३५ साल देखि नै सामाजिक क्षेत्रमा क्रियाशील उक्त क्लव औपचारिक रुपमा २०६५ सालमा दर्ता भएको थियो । क्लवको नेतृत्वमा हरेक वर्ष धनकुटा नगरको चर्चित पर्यटकिय स्थल चुलिवन क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोप्दै आइरहेको छ ।