वराहक्षेत्र । सप्तकोसी युवा क्लबको आयोजनामा वराहक्षेत्र नगरपालिकाको वार्ड नं ७ को देवघाटमा असोज २१ गतेबाट क्लब स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका ८ टिम सहभागी हुने क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको छ । 

 फुटबलमा रानी विराटनगरको पुलिस क्लब राजाबास फुटबल क्लब वराहक्षेत्र–९ हाटखोला फुटबल क्लब वराहक्षेत्र–२, शान्तिनगर फुटबल तरहरा, बक्लौरी युवा क्लब पंचायन,सप्तकोसी युवा क्लब देवीघाट, न्यु स्टार फुटबल क्लब कालाबन्जार र आयोजक निलो सहभागी हुने आयोजक सप्तकोसी युवा क्लबका अध्यक्ष कपिल आचार्यले बताए ।

प्रतियोगिताको विजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपैँया र उपविजेतालाई ३५ हजार ५ सय ५५ रुपैंया तथा ट्रफी प्रदान गरिने छ ।  प्रतियोगिताको व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रतिरक्षा, यसै गरी उत्कृष्ट टिम कोच र म्यानेजर लगायत लाई पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए । 

३ लाख ७५ हजार बजेट भएको प्रतियोगितालाई वराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिले १ लाख २५ हजार उपलब्ध गराएको छ भने सहयोग रसिदबाट १ लाख ५० हजार,सङ्घ संस्थाबाट ७५ हजार र अन्य टिकट बिक्री र सवारी साधन पार्किङबाट गरी २५ हजार जुटाइने उनले बताए  ।

यस भन्दा अघि ९ वटा क्षेत्रीय फुटबल गराईसकेको क्लबले यो वर्ष कोभिडको कारणले गर्दा क्लबमा सीमित भएको हो ।  

 नकआउटको आधारमा स्थानीय वसन्त ऋतु माविको खेल मैदानमा हुने फुटबल प्रतियोगिताको समापन असोज २७ गते हुने आयोजकले जानकारी दिएको छ ।