विजयपुर । धरान उपमहानगरमा तीनचक्के यातायातका साधन टेम्पो सञ्चालकहरूले मनपरी रूपमा अत्यधिक महँगो भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् भने नियामक निकाय भने बेखबर छ ।
धरानमा टेम्पोमा पस्ने बित्तिकै ३० रुपैयाँ तिर्नु पर्छ । अर्थात् धरानको भानुचोकबाट जिरो पोइण्ट पुगे पनि ३० रुपैयाँ र छाताचोकमै उत्रिए पनि ३० रुपैयाँ तिर्नुपर्छ । यो वैज्ञानिक र व्यावहारिक भाडादर भने होइन । यो त टेम्पो सञ्चालकको मनपरी हो । अर्थात् नियामक निकायले चासो नदिँदाको परिणाम हो ।
धरान–३ माछाभौडीदेखि पानवारीसम्मको भाडादर ८० रुपैयाँ छ । त्यस्तै माछाभौडीदेखि नै देउरालीसम्मको भाडादर ५० रुपैयाँ लिइन्छ छ । भानुचोकदेखि जिरोपोइण्ट, रेल्वे, बगरकोट, तीनकुनेसम्मको भाडादर ३० रुपैयाँ छ ।
धरान–पानवारी बसको भाडादर ४० रुपैयाँ मात्रै रहेको छ । तर, टेम्पोले भने बसको भाडाको भन्दा दोब्बर लिने गरेको छ । यसरी टेम्पो चालकले मनपरी तरिकाले अत्यधिक भाडा असुल्दा सर्वसाधारण भने मारमा परेका छन् ।
यात्रु सम्झना लिम्बूले लकडाउनभन्दा पहिले धरान–पानवारीको ५० रुपैयाँ भाडा रहेको तर, लकडाउन र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा मनपरी भाडा असुलेको बताइन् । उनले सर्वसाधारणबाट टेम्पोले मनपरी भाडा असुल्दासमेत उपमहानगर भने बेखबर रहेको बताइन् ।
अन्य यात्रुहरूले पनि टेम्पोले मनपरी भाडा असुल्दा मारमा पर्ने गरेको बताएका छन् । धरान–पानवारी सडक– खण्डमा टेम्पो चलाउने चालकहरू नै पनि ८० रुपैयाँ भाडा अत्यधिक महँगो भएको बताउँछन् ।
धरान–पानवारी सडक–खण्डमा टेम्पो चलाउने एक चालकले नाम नखुलाउने शर्तमा पहिले २ जना मात्रै यात्रु हाल्दा १ सय रुपैयाँसम्म भाडा लिएको बताए । उनले भने, ‘पहिले ५० थियो, अहिले पेट्रोलको मूल्य पनि वृद्धि भएकाले ६० रुपैयाँसम्म भाडा उपयुक्त हुन्छ ।’
किन ८० लिएको भन्ने जिज्ञासामा व्यवसायी सङ्घले निर्धारण गरेकाले लिनुपरेको उनले बताए । सोही सडक–खण्डमा टेम्पो सञ्चालन गर्ने अर्का चालकले नाम गोप्य राख्ने शर्तमा ८० रुपैयाँ भाडा निकै महँगो भएको बताए ।
उनले पनि सङ्घले नै भाडादर निर्धारण गरेकाले लिनुपरेको बताए । उनले ५० देखि ६० रुपैयाँ भाडा लिँदा चालकलाई घाटा नहुने बताए । ‘सङ्घले निर्धारण गरेको छ, कम लिन मिल्दैन’–उनले भने ।
भाडादरका विषयमा धरान–पानवारी यातायात प्रालिका अध्यक्ष श्याम मगरले ५० रुपैयाँ भाडादर उपयुक्त हुने बताए । तर, लकडाउन भएदेखि १ सय रुपैयाँसम्म लिने गरेको बताए । दूरीको आधारमा भाडादर निर्धारण गर्नुपर्ने उनको भनाइ छ । उनले उपमहानगर र वडाले भाडादर निर्धारण गर्नुपर्ने बताए ।
वडा नं. ६ कार्यालयले चासो नदिँदा भाडादर निर्धारण हुन नसकेको उनले बताए । वडा कार्यालयलाई बारम्बार माग गर्दा पनि भाडा निर्धारण नगरेको आरोप उनले लगाए । वडा नं.६ का अध्यक्ष भूवनसिंह बस्नेतले बारम्बार भाडा घटाउन आग्रह गरे पनि टेम्पो व्यवसायी तथा चालकहरूले नमानेको बताए । उनले भने, ‘व्यवसायीले भाडा घटाउन नमानेपछि जबरजस्ती १ सय रुपैयाँबाट ८० रुपैयाँ बनाएको हो ।’
वडाले नगरेको भन्ने कुरामा सत्यता नभएको अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘वडाले नै निर्णय गर्दा नजिर बस्छ भनेर नगरेको हो, उपमहानगरले गर्नुपर्छ भन्ने छ, नगर प्रमुखलाई पनि जानकारी गराएका छौँ ।’
धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले टेम्पोको भाडादर अव्यावहारिक र मनपरी भएको बताउँदै तीनचक्के यातायातका साधनको क्षेत्राधिकार प्रदेश सरकारमा भए तापनि भाडादर निर्धारण गर्ने अधिकार स्थानीय तहलाई रहेको बताए ।
धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले टेम्पोको भाडादर अव्यावहारिक भएको आफूले पनि अनुभव गरेको बताए । उनले भने, ‘टेम्पोको अधिकार क्षेत्र स्थानीय तहको हो कि होइन खोजी गर्छाैं र क्षेत्राधिकार रहेछ भने भाडादर निर्धारण गर्न लाग्छौँ ।’
धरान उपमहानगरकी उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक मञ्जु भण्डारी सुवेदीले विगतमा पनि सर्वसाधारणको समस्यालाई बुझेर नै भाडादर निर्धारण गरे पनि कार्यान्वयन गर्न नसकेको बताइन् । ‘सर्वसाधारणका समस्या बुझेर निर्धारण गरेकोमा विरोधीहरूले अफवाह फैलाएर कार्यन्वयनमा आउन सकेन’ उनले भनिन्, ‘सङ्गठित समूहले विरोध ग¥यो, उनीहरूको आवाज पनि ठूलो भयो तर, सर्वसाधारण सङ्गठित नभएकाले आवाज कमजोर भयो, त्यसैले कार्यान्वयन गर्न सकिएन ।’
भाडादर २५ रुपैयाँ निर्धारण गरेको भण्डारीले बताइन् । नागरिकको पक्षमा काम गर्दा आफै विवादित हुनुपरेको उनको भनाइ छ । भण्डारीले टेम्पोको हालको भाडादरले सर्वसाधारण मारमा पर्ने अवस्था भए उपमहानगरले निर्धारण गर्ने बताइन् ।