विजयपुर  । मुस्लिम समुदायको धार्मिक संस्था अञ्जुमन इस्लामियालाई आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।

संस्थाका निवर्तमान सदस्य तथा साधारण सदस्यहरूले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पदाधिकारीले संस्थाको साधारणसभामा साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत नगरेको भन्दै आर्थिक हिनामिना भएको आरोप लगाएका हुन् ।

संस्थाका निवर्तमान सदस्य तथा कब्रिस्तान (चिहान) स्थल व्यवस्थापन समितिका संयोजक फिरोज अलीले आफू संयोजक भए पनि आफूलाई जानकारी नै नदिई कब्रिस्तान स्थलमा पर्खाल लगाइएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले कब्रिस्तान निर्माणमा १२ लाख ५६ हजार लागत देखाइएको तर, इञ्जिनियरले ९ लाख ५६ हजार मात्रै खर्च देखाएको बताए । उनले सङ्घीय सांसद् जयकुमार राईको संसद्् विकास कोषबाट प्राप्त १० लाख रकममा पनि हिनामिना गरेको आरोप लगाए । संस्थाले कब्रिस्तानको पूर्व र दक्षिणतिर वाल लगाउने काम गरेको थियो । उनले आर्थिक अनियमितता भएको दाबी गर्दै छानबिनको माग गरे ।

अलीले निर्माण कार्य गर्दा कानूनविपरीत बोलपत्र आह्वानसमेत नगरी आफ्नो नजिकको ठेकेदारलाई ठेक्का दिएको आरोप लगाएका छन् । संस्थाका अध्यक्ष युसुफ शेखले भने साधारण सभामा सबै साधारण सदस्यलाई राखेर आर्थिक प्रतिवेदन प्रस्तुत गरेको बताए । प्रतिवेदनमा सबैले चित्त बुझाएको पनि उनले दाबी गरे ।

निर्माणको कार्य पनि सहमतिमा नै समितिको निर्णयअनुसार गरेको उनले बताए । उनले फिरोज अली ८ महिनाअघि मात्रै संयोजक भएको र निर्माण कार्य २ वर्षदेखि भएको बताए ।

संस्थाका सचिव अफाक अहमदले पनि आर्थिक हिनामिना नभएको दाबी गरे । आर्थिक हिनामिना भएको भए फछ्र्योट नहुने भन्दै आरोपमा सत्यता नभएको उनले बताए । अञ्जुमन इस्लामिया संस्थाको नवनिर्वाचित समिति अवैधानिक भएको असन्तुष्ट पक्षको आरोप छ ।

संस्थाको भदौ २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित समिति विधानविपरीत भएको आरोप लगाए । विधानअनुसार संस्थाको साधारण सदस्य तथा मताधिकारका लागि २१ वर्ष पुग्नुपर्छ तर, २१ वर्ष पूरा नभएका मतदाताले मतदान गरेको उनीहरूको आरोप छ ।

संस्थाका अध्यक्ष युसुफ शेखले केही कुरा विधान विपरीत भए पनि विरोध गर्नेहरूको सहमतिमा नै गरेको स्वीकार गरे । उनले विरोध गर्नेहरूले पनि विधानविपरीत कार्य गरेको दाबी गरे । १७ वर्षदेखि यस्तै हुँदै आएकाले इतिहासलाई पनि हेर्नुपर्ने उनको भनाइ छ ।

सचिव अफाक अहमदले विरोध गर्नेहरूले निर्वाचनमा पराजित भएपछि आक्रोस पोखेको बताए । ‘उहाँहरूलाई विरोध गर्ने अधिकार छ’ उनले भने, ‘आरोप लगाउनेहरू उपाध्यक्ष र सदस्य पदका उम्मेदवार हुन्, पराजित भएपछि पीडा पोखेका हुन् ।’