पथरीशनिश्चरे ।  मोरङको पथरीशनिश्चरे नगरमा कृषि र पशुपंक्षी कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।

 जस अन्तर्गत पछिल्लो पटक गाई र माछाको ब्लक क्षेत्र निर्माणको क्रममा पुगेको छ । तरकारी, मौरी, बाख्रा र बंगुरका ४ वटा पकेट कार्यक्रम सञ्चालन छन् । यो वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रले गाई र माछाको ब्लक क्षेत्र छनोटका लागि अनुगमन् गरी क्षेत्र निर्धारणको काम गरेको छ । गाईका लागि बडेलाल यादव र माछाका लागि रुद्रबहादुर फूयाँल नेतृत्वको टोलीले अनुगमन् गरेको हो ।

  गाई र माछाको व्यवसायिकतामा अघि बढेको नगर क्षेत्रमा गाईको ब्लकका लागि उन्नत जातका भए २ सय र स्थानीय जातका भए ५ सय गाई आवश्यक पर्दछ । माछाका लागि ६० हेक्टर जलासय क्षेत्रको मापदण्ड छ । यी मापदण्ड पुरा गरेर २ क्षेत्रको ब्लक बनाउन किसानहरु जुट्दै गरेको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।

यसका साथै, जंगल नजिक रहेको तथा खेतबारीमा पनि डाले घाँसको प्रवन्ध भएको घाँसको समेत श्रोत केन्द्र रहेको नगरमा बाख्रा श्रोत व्यवस्थापनको लागि पनि पहल भएको छ । जसका लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट नेलसन पोखरेल, हिमा गौतम, पवित्रा दहालको टोलीले अनुगमन सकेको छ ।

 उता, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लागि नगरका ९ वटा कृषि फर्मको प्रारम्भिक छनौट गरिएको छ ।

 इनोभेसन आयोजनाको अनुदान वितरणका लागि नगरबाट पेश भएका परियोजनामध्ये प्रारम्भिक छनौटमा परेका ९ फर्महरुको अनुगमन् गरिएको छ । आयोजनाका डा. सुशील अधिकारी, योगेन्द्रप्रसाद शर्मा, लेखनाथ खरेल तथा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको टोलीले फर्मको अनुगमन् गरेको हो । परियोजना सञ्चालनका लागि आयोजनाको ५० प्रतिशत, विश्वबैंकको ३० प्रतिशत र स्वयम् कृषक फर्मको २० प्रतिशत लगानी रहने छ ।

 बाख्रामा वडा नम्बर २ बाट प्रेमा श्रेष्ठ, ३ बाट रामप्रसाद खनाल, ५ बाट मनमाया पाण्डेको फर्म प्रारम्भिक छनौटमा परेको छ । त्यस्तै, दुधका लागि वडा नम्बर ३ बाट चन्द्रिका सापकोटा, भला रेग्मी, ५ बाट विशाल पाण्डे, दिलकुमारी सुनाम, ६ बाट योगेन्द्र रायामाझी र ७ बाट रमेश ढकालको फर्म छनौटमा परेको पशुपंक्षी शाखा प्रमुख दहालले जनाए ।

 परियोजनामा प्रारम्भिक छनौटमा परेकाहरुले अव पूर्ण प्रस्तावना पेश गर्नु पर्ने र अन्तिम चरणमा छनौट गरिने छ ।