सुनसरी । सीमा सिल रहेकोे अवस्थामा समेत सुनसरीका विभिन्न सीमा नाकाहरूबाट तस्करी हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञासँगै सीमा नाका सिल हुँदा जिल्लाका सीमावर्ती क्षेत्रहरूमा पहिलाको तुलनामा सुरक्षाकर्मी बढाए पनि तस्करी भने रोकिएको छैन ।
यसै क्रममा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले कोसी गाउँपालिका–१ लौकहीबाट सोमबार दिउँसो ठूलो परिमाणमा चिनी बरामद गरेको छ । भारतीय बजारबाट तस्करी गरी पूर्वतर्फ पठाउन तयारी अवस्थामा राखिएको बिलबिजक नभएको ५० केजी दरका १ सय ६२ बोरा चिनी बरामद गरी आवश्यक कारबाहीको लागि ट्रकसहित सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भारतीय बजारबाट भन्सार छली गर्दै ल्याइएको १ सय ६२ बोरा चिनी लौकही बजारदेखि भित्री सडक–खण्डमा को.१ ख ५२१५ नम्बरको मिनी ट्रकमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिई ट्रकसहित भन्सार कार्यालयमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ ।
१ सय ६२ बोरा चिनीसहित ट्रक भन्सार कार्यालय बुझाएकोमा भन्सार कार्यालयले चिनीको ४ लाख ४५ हजार पाँच सय र ट्रकको १० लाख गरी १४ लाख ४५ हजार पाँचसय मूल्याङ्कन गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ् । उक्त ट्रकका चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका–४ बस्ने ४८ वर्षीय विरोध लामिछानेलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ ।
यसैगरी सोमबार बिहानै प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इनरुवा नगरपालिका–९ स्थित बबियाबाट ठूलो परिमाणमा भारतीय बजारबाट साइकलामा ल्याइएको कपडासहित चारजनालाई नियन्त्रणमा लिई सुनसरी भन्सार कार्यालयमा बुझाएको थियो । भन्सार कार्यालयले उक्त कपडाको २ लाख ३० हजार मूल्याङ्कन गरेकोमा सो बापत धरौटी तिरेर चारैजना छुटेका छन् ।
केही दिनअघि लौकहीबाट नै भारतीय बजारबाट तस्करी गरी ल्याइएको ७८ बोरा चिनी, बिस्कुट, तेललगायत अन्य खाद्यान्न सामग्री राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले बरामद गरेको थियो । विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले कोसी गाउँपालिका–१ स्थित लौकहीमा रहेको निशा किराना पसलबाट उक्त खाद्यान्न सामग्री बरामद गरेको थियोे ।
त्यतिबेला छापा मार्ने क्रममा राजस्वको टोलीले शङ्कर साहको सो पसलबाट ५० केजी दरका ४६ कार्टुन र २५ केजी दरका ३२ कार्टुन गरी ७८ कार्टुन चिनी, १६ कार्टुन पारलेजी बिस्कुट, ९ कार्टुन टप बिस्कुट, १६ कार्टुन गुडडे बिस्कुट, १३ कार्टुन ह्याप्पी बिस्कुटलगायत गरी अन्दाजी ४ लाख बराबरको खाद्यान्न सामग्री बरामद गरेको थियो ।
स्रोतका अनुसार जिल्लाका वसन्तपुर, घुस्की, हरिनगर, लाही, लौकही, उल्टीसहितका नाकाबाट दैनिक रूपमा भन्सार छलेर लाखौंको सामान भारतबाट भित्रिने गरेको छ । लकडाउनको समयमा दसगजा क्षेत्रमा चोरीपैठारी नियन्त्रण तथा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा त्यसरी तस्करी हुने गरेको स्रोतको भनाइ छ । भारतबाट लकडाउनको समयमा विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरू अवैध रूपमा भित्रिने गरेको छ भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको गुनासो आएको छ ।
सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर सुनसरीका सीमा नाकाहरूबाट तस्करी हुँदै आएकोबारे व्यापक गुनासो आए पनि यसबारे सम्बन्धित निकाय मौन रहेका छन् । दशैंतिहार नजिकिँदै जाँदा चोरीतस्करी बढ्ने हुँदा नियन्त्रणका लागि सुनसरी प्रहरी सक्रियताका साथ लागेकाले तस्करीका सामान धमाधम बरामद गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोसी गाउँपालिका–१ स्थित लौकहीबाट ट्रकमा लोड गर्दै गरेको अवस्थामा कुनै कागजात नभएको ठूलो परिमाणमा चिनी बरामद गरिएको हो । उनले भने, ‘गोदाम राख्ने अनुमति नलिइकन गैरकानूनी तरिकाले स्टक गरी चिनी राखिएको पाइएकाले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएका हौं ।’ आफ्नो कार्यकालमा सीमा नाकाबाट हुँदै आएको भनिएको चोरीतस्करी न्यूनीकरण गर्ने योजनाअनुसार काम गरिरहेको एसपी थापाले दाबी गरे ।