धरान । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनअन्तर्गत धरानको चुनावमा सङ्घीय सरकार संस्थापन र स्थानीय सरकार संस्थापनबीच लडाइँ हुँदै छ । यसलाई दुवै पक्षले प्रतिष्ठाको लडाइँका रूपमा लिएका छन् ।

सङ्घीय संस्थापनतिर खारिएका पुरानाको बोलवाला हुँदा स्थानीय संस्थापनमा युवाको बर्चश्व छ । त्यसकारण पनि यस लडाइँलाई युवा र अग्रजबीचको भिडन्तका रूपमा आम काङ्ग्रेसजनले बुझेका छन् । यसपटकबाट काङ्ग्रेसको वडातहबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिले मात्रै भोट दिन पाउने व्यवस्था गरेपछि लडाइँ रोमाञ्चक हुने देखिँदै छ । वडा तहबाट आएका क्षेत्रीय प्रतिनिधि स्थानीय सरकारको संस्थापनबाट भएको दाबी गरिँदै आएको छ भने अर्कातिर सङ्घीय संस्थापनले क्षेत्रीय प्रतिनिधिको उपस्थिति बराबर नै रहेको बताइन्छ । सङ्घीय संस्थापनबाट काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर मानिएका किशोर राई छन् । 

यसअघि करिब १३ वर्ष सभापति रहिसकेका व्यक्ति हुन् । चुनावी प्रतिस्पर्धामा यसअघि हालका नगर सभापति तिलक राईसँग पराजित बनेका थिए । नगर सभापति हाल धरान नगरका प्रमुख पनि छन् । त्यसकारण पनि स्थानीय सरकार संस्थापन भनिएको हो । स्थानीय सरकार संस्थापनमा भने सभापतिका उम्मेदवार श्याम पोखरेल छन् । हालका सचिवसमेत रहेका पोखरेलको समूहमा सबैजसो युवाहरू छन् ।

काङ्ग्रेसका पुराना नेता डा. आनन्द आचार्यले दुवै समूहले परिपक्वता देखाएर स्वस्थ्य प्रतिस्पर्धामा आएको बताए । ‘लोकतान्त्रिक पार्टी भएका हुनाले पक्षहरूबीच प्रतिस्पर्धा हुनु सामान्य हो, यो स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धा हो’ उनले भने । 

यता किशोर राईको समूहमा युवाहरूका बावजुद उमेरका हिसाबमा केही पाका छन् । साथै केही विवादित व्यक्तिहरू पनि पदाधिकारी छन् । ‘ किशोरजी समूहमा राम्रो मान्छे देखिन्न । नेतृत्व गरेका कार्यकर्ता देखिन्न’ काङ्ग्रेसका एक कार्यकर्ता भन्छन् । 

चुनावी गणितका आधारमा ४९६ जना प्रतिनिधिले ७ वटा मुख्य पदका लडेका उम्मेदवारहरूलाई भोट दिन पाउँछन् । जानकारका अनुसार अहिलेको लडाइँ किशोर राई र श्याम पोखरेलको नभई त्यसभन्दा माथिका नेताहरूको लडाइँ भनी बताइन्छ । सांसद मीन विक र महाधिवेशन प्रतिनिधि उमेश थापा साथै जिल्ला सचिव सुजेन्द्र गोले तामाङबीचको लडाइँ रहेको बताइन्छ । केहीअघिसम्म थापा र तामाङ स्थानीय सरकारको संस्थापन पक्षसँग पनि रुष्ट थियो तर ती दुईको कुरा स्थानीय सरकारको संस्थापन पक्षले सुनेकै कारणले अहिले पोखरेललाई सघाइ रहेका छन् । अहिलेको चुनावमा उम्मेदवारसँगै मुख्य पदमा कुन जातिको प्रतिनिधित्व छ भन्ने विषयलाई पनि बढी प्राथमिकता दिन थालिएको छ । यो पछिल्लो राजनीति घटनाक्रमले देखाउँदै आइरहेको छ । 

चुनावी अङ्कगणितलाई आधार मान्दा पोखरेल केही सबल देखिने सम्भावना छ । खस आर्य जातिको प्रतिनिधित्व गर्ने भएकाले पनि उनलाई खसआर्यहरूले बढीभन्दा बढी भोट दिने सम्भावना रहेको जानकार बताउँछन् । सभापति पदमा अन्य जातिको भोट भने बाँडिन सक्ने सम्भावना रहने नेपाली काङ्ग्रेसबारे जानकार एक बताउँछन् । ‘त्यसकारण पनि श्याम पोखरेलको सम्भावना प्रवल छ’ उनी भन्छन्, ‘स्थानीय सरकारको संस्थापन पक्षले अन्य जातिको भोट तान्ने सम्भावना छ ।’ धरानको २० वटै वडालाई अध्ययन गर्दा खसआर्य जातिको भोट १४८ छ । राई जातिको भोट ११३ छ । नेवार ८०, लिम्बू ३८, तामाङ÷गुरुङ ३८, दलित ३२, मधिशे २५, मुस्लिम १०, थारू ७ र मगर ५ छन् । जातिगत आधारमा भोट गएमा सभापतिमा श्याम पोखरेलले सहजै जित्ने सम्भावना रहन्छ । किनकि हालका सभापति तिलक राईले पनि आफ्नो हिसाबमा जातिगत भोट पोखरेलको पोल्टामा पार्नेछन् । जसले गर्दा पोखरेलको सम्भावना बलियो देखिन्छ । 

यता किशोर राईलाई खसआर्यबाट सोचेअनुरूप भोट नआउने बताइन्छ । राई जातिबाटै पनि उनलाई ५० प्रतिशत भोट मात्रै आउने सम्भावना हुन्छ । अन्य जातिको हकमा पनि त्यस्तै हुने सम्भावना छ । यता वडागत आधारमा पनि किशोर राईभन्दा पोखरेललाई बढी भोट आउने सम्भावना रहेको छ । सुनसरीका संस्थापक सचिव एवम् नेपाली काङ्ग्रेस केन्द्रीय परामर्श समिति ज्येष्ठसभा सदस्य गिरिराज आचार्यले पल्लाभारी श्यामको हो कि भन्ने देखिने बताए । ‘पल्लाभारी श्यामको हो कि भन्ने हो, मान्छेको मन कसले कसलाई रिझाउन सक्छ, त्यतैतिर पल्लाभारी हुनसक्छ’ उनले भने । उनले कतिपय जातीय भोट पनि एकअर्कालाई जान सक्ने बताए । ‘तर त्यो सङ्ख्या थोरै हुनसक्छ’ उनले भने । 

वडागत रूपमा सबैभन्दा बढी भोट १ नम्बर वडामा छ । जहँ ५१ भोट छ । त्यस्तै २ नम्बरमा ३१, ३ नम्बरमा १९, ४ नम्बरमा १८, ५ नम्बरमा १८, ६ नम्बरमा १८, ७ नम्बरमा १९, ८ नम्बरमा २९, ९ नम्बरमा २० र १० नम्बर १७ जना छन् । त्यस्तै ११ नम्बर वडामा १९, १२ नम्बर वडामा ३०, १३ नम्बर वडामा २९, १४ नम्बर वडामा १७, १५ नम्बर वडामा ३९ , १६ नम्बर वडामा ३९, १७ नम्बर वडामा २७, १८ नम्बर वडामा २०, १९ नम्बर वडामा १९ र २० नम्बर वडामा १६ जना क्षेत्रीय प्रतिनिधि छन् । काङ्ग्रेसको राजनीतिलाई नजिकबाट नियालिरहेका अग्रज पत्रकार हर्ष सुब्बा भन्छन्, ‘थोरै मतले हारजित हुन्छ । अहिले दुवै पक्षको पल्ला भारी नै देखिन्छ ।’ 

यता दुवै समूहका सभापतिका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । सभापतिका उम्मेदवार किशोर राईले आफ्नो समूहको जित निश्चित रहेको बताए । त्यस्तै प्रत्यासी श्याम पोखरेलले पनि आफ्नो समूहको जित हुने बताए । उनले पार्टीमा युवाहरू आउनुपर्ने भन्दै भनिए पनि त्यस खालको वातावरण नबनेको अवस्थामा धरानमा आफूहरूलाई सबैले विश्वास गरेको बताए ।