कोभिड संक्रमणले थिलथिलो पारेको धराने फुटबल क्रेज क्रमशः जुर्मुराउँदै छ । धरानका व्यावसायिक फुटसल कोर्टमा सङ्क्रमण मत्थर हुँदै जाँदा आकर्षण बढ्दै गइरहेको छ । धरानका मितेरी फुटसल धरान ११, बुढासुब्बा (१८), बिग (१५) र धरान फुटसल (१२) मा दैनिक न्युनत्तम ५ टिमले खेल खेलिरहेका छन् । 

फुटबल फ्यान र खेलाडीको शहरका रुपमा परिचित धरानमा छुट्टीमा आएका सिंगापुर पुलिसका ‘अन सर्भिस’ हरुले मितेरी फुटसलको आयोजनामा प्रतियोगिता गर्ने भएका छन् ।  धरान ११ स्थित मितेरी फुटसल र सिंगापुर लिभ टोलीको संयुक्त आयोजनामा हुने प्रतियोगिताले फुटसलको व्यावसायिक स्पर्धाको झल्को दिएको छ । तर प्रतियोगिताको आयोजना भने ‘च्यारिटी’ का रुपमा रहेको घोषणा गरिएको छ । 

आगामी असोज १० गतेदेखि त्रिदिवसीय फुटसल प्रतियोगिता हुने धरानमा आयोजित प्रेस भेटघाटमा आयोजक मितेरीका अध्यक्ष लुकेन्द्र राईले बताए । ‘फर्स्ट सिंगापुर एण्ड मितेरी फुटसल टुर्नामेन्ट’ नाम दिइएको स्पर्धाका विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित उपाधि प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र अधिक गोलकर्ताले व्यक्तिगत २ हजार ५ सय रुपैयाँ  प्राप्त गर्ने छन् ।

‘धरान, इटहरी, काठमाडौं, पोखरा, चितवन, मोरङ, झापा, धनकुटालगायतबाट  करिब ३० टिमले सहभागिता जनाउने छन्,’ मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईले भने, ‘प्रतियोगिताबाट उठेको रकमले धरानदेखि भेडेटारसम्मका जोखिमयुक्त टर्निङमा कन्भेक्स मिरर लगाइनेछ ।’ अध्यक्ष राईका अनुसार धरानका पत्रकारहरुको पहलमा धरान १७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा निर्माण भइरहेको विजुवामार्गस्थित एकल महिला जानुका विकको घरलाई समेत सहयोग गरिनेछ । 

प्रतियोगिताको प्रवद्र्धनका लागि असोज ८ गते नेपाल पत्रकार महासंघ, सुनसरी र सिंगापुर पुलिसका टिमबीच मैत्रीपूर्ण फुटसल हुनेछ । खेल तालिका भने ९ गते सार्वजनिक गर्ने आयोजकको तयारी छ । प्रतियोगिता बजेट १५ लाख रुपैयाँ पुग्ने अध्यक्ष राईले बताए । धरानको खेलकुद विकासमा टेवा पुग्ने गरी इन्डोर ब्याडमिन्टन, जिम हल, क्याफे, स्विमिङ पुल बन्ने क्रममा रहेको अध्यक्ष राईले बताए । उनले ब्याडमिन्टन, कराते र फुटसलको व्यावसायिक विकासका लागि योगदान गर्ने बताए । मितेरीले यस अघि पनि च्यारिटीमार्फत् खेलाडीहरुलाई सहयोग गर्दै आएको थियो ।

भिडियाेका लागि युट्युबमा ब्लाष्टखबर खाेज्नु हाेला

लिंकका लागि यहाँ क्लिक गर्नुहाेस्ः