समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्वको एजेण्डासहित सुनसरीका पाँच स्थानीय तहका किशोरी २ दिने कला कार्यशालामा सहभागी भएका छन् ।

‘गर्ल्स गेट इक्वेल’ अभियानअन्तर्गत किशोरीले चिठी लेखन कलाको अभ्यास गरेका छन् । रामधुनी, इनरुवा, वराहक्षेत्र, दुहबी र धरान उपमहानगरपालिकाका ७४ जना किशोरी कला कार्यशालामा सहभागी भए । 

रामधुनी नगरपालिकाका १४ जना, इनरुवाका २० जना उद्योग वाणिज्य संघको भवनमा, बराहक्षेत्रका २० जना वसन्त ऋतु माविमा, धरान उपमहानगरपालिकाका १० जना विमल स्मृति पुस्तकालयको हलमा र दुहबीका १० जना बीपी आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यशालामा सहभागी भए । 

सहभागीले शक्ति, स्वतन्त्रता झल्कने चित्र बनाए । कार्यशालामा विभिन्न उत्प्रेरक खेल खेले । गर्ल्स गेट इक्वेलको चिह्न ‘फेस कलरपेन्ट’ गरे ।  कार्यशालामा अभ्यास गरेका चिठी राष्ट्रपति, प्रधानमन्त्री, स्थानीय तहका प्रमुख, वडाध्यक्ष, प्रहरी प्रमुख, पत्रकारलगायतलाई पठाए । 

प्लान इन्टरनेसनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको उत्थान केन्द्रकी चन्द्रिका चौधरीले बताइन् । कार्यशालाले किशोरकिशोरीको मनभित्र रहेका समस्या र आवाज समेटेको सहभागी मनिषा रसाइलीले बताइन् ।