मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलोपटक मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

सुनसरीको धरान–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी पत्नी ३३ वर्षीया नन्दकुमारीको मिर्गाैला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले भने, ‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।’ उनका अनुसार अब नियमित रूपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिनेछ ।

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर साहको नेतृत्वमा प्रत्यारोपण गरिएको हो ।

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा.दीपेश श्रेष्ठ, एनेस्थियोलोजिष्ट अर्चन अधिकारीसहितको टोलीले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक विधिबाट पत्नीको बायाँ मिर्गौला निकालेर पतिको पेट चिरेर दायाँतर्फ राखिएको डा.साहले जानकारी दिए । दुई वर्षअघिदेखि दुवै मिर्गौला ‘फेल’ भएपछि टेकनाथले नियमित डाइलाइसिस गराउँदै आएका थिए ।

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो ।

स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गाैला प्रत्यारोपणका लागि अनुमति दिइएको हो ।