धरान डेक्स : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीनको शुभकामना दिएका छन् । 

तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई उनीहरुले शुभकामना दिएका हुन् । हरितालिका तीनजस्ता चाडपर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकतामा आवद्ध गर्न सहयोग गर्ने भण्डारीले उल्लेख गरेकी छन् । तीजले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तबीचको सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत गर्ने उनले बताएकी छन् । 

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने आवश्यकता रहेकोमा राष्ट्रपति भण्डारीको जोड छ । राष्ट्रपतिले तीजले समाजमा व्याप्त रहेको महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेकी छन् । साथै सभ्य, समतामूलक एवम् प्रगतिशील समाजको निर्माणमा तीजले सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना उनले गरेकी छन् । 

उपराष्ट्रपति पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरेर मात्रै तीज मनाउन उनको आग्रह छ । 

यसैबीच प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरेर तीन मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले कोरोना महमारी कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर तीज मनाउन सम्पूर्ण दिदीबहिनीहरुमा आग्रह गरेका छन् ।