धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ  ।  

मेयर तिलक राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षती हुने गरि भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्। मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्रायलाई स्मरण गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरुलाई संयमता अपनाउन अनुरोध गरेका छन्। 

वीपी प्रतिष्ठानमा भईरहेको वेथिति विसंगतिको विषयलाई लिएर केही समय अघि उपमहानगरपालिकाको नेतृत्वमा धरानका राजनीतिक दल, नागरिक दवाब समूहसहितको प्रतिनिधिमण्डल काठमाण्डौं गई सम्बन्धित मन्त्रालयमा दबाब समेत दिइएको मेयर राईले प्रेस विज्ञप्तिमा मार्फत  जानकारी  गराएका छन्।  

उपमहानगरपालिकाको अगुवाईमा राजनीतिक दल र वीपी शुद्धिकरण संघर्ष समितिसंग समस्या समाधानका लागि विभिन्न चरणमा छलफल समेत गरिरहेको मेयर राईले  बताए । 

दक्षिण एशियाकै प्रतिष्ठित अस्पतालका रुपमा स्थापित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता, बेथिति र विसंगतिका विरुद्ध सम्पूर्ण धरानवासीहरु एकजुट भएका छन् । विगत ८५ औं दिनदेखि प्रतिष्ठानको शुद्धिकरणका लागि चिकित्सकहरु लगायतद्वारा  आन्दोलन समेत भईरहेको अवस्था छ । 

 धरानको छवि उजिल्याउन महत्वपूर्ण भूमिका रहेको प्रतिष्ठान धरानबासीहरु मात्र नभई छिमेकी राष्ट्र भारतको बिहार तथा प्रदेश १ र  प्रदेश २ का जनताहरुको स्वास्थ्य समस्याको समाधानको आधारस्तम्भ समेत बनेको मेयर राईले बताए । 


मेयर राईले यस्तो महत्वपूर्ण संस्थाको रुपमा रहेको प्रतिष्ठानका सबै सेवाहरु सुचारु गर्न पनि  आन्दोलनकारीहरुलाई आग्रह  गरे  । मेयर राईले प्रेस विज्ञप्तिमार्फत  भनेका छन् ‘यहाँहरुको संयमित आन्दोलनका लागि धरान उपमहानगरपालिका सदैव साथ रहने समेत विश्वस्त दिलाउन चाहन्छौं ।’