मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्व मन्त्री भानुभक्त ढकालले महिलाहरुले सञ्चालन गरेका संस्थाहरुका गतिविधि पारदर्शी तथा प्रभावकारी हुने गरेको बताएका छन् ।
उनले जिल्लाको पथरीशनिश्चरे २ मा चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन्का क्रममा आइतबार सो कुरा बताएका हुन् । उनले महिलाहरुको अथक प्रयासबाट सहकारीको भवन निर्माण सहितका गतिविधि थाहा पाउँदा आफुलाई गर्व लागेको र त्यसमा आफुले सक्दो सहयोग पुर्याउने बताए ।
कार्यक्रममा सहकारी निर्माणका क्रममा समूह बनाएर सहजिकरण गर्ने संस्था हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले हेफरमार्फत पथरीशनिश्चरेमा झैं देशभर २ सय ३१ वटा सहकारी गठन भई करीव ३ लाख परिवार यसमा आवद्ध भएको जानकारी गराए । यसक्रममा २ अर्व ५० करोड पूँजी जम्मा भएको र बैंकहरुसँग समन्वय गरी धितो विना १० लाख रुपैयाँसम्म ७ अर्व ऋण प्रवाहको पहल गरिएको पनि जनाए । उनले हालसम्म ४१ पालिकामा पशुको गोठ सुधार इनोभेसन सहितको कार्यक्रमको सम्भौता भइसकेको बताए ।
कार्यक्रममा बोल्दै मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरु बराल र अभियान नेपालका अध्यक्ष प्रेम गिरीले आर्थिक विपन्न समुदायका लागि आत्मनिर्भर मात्र नभएर अन्तर निर्भरतातर्फ उन्मुख गराउन इनोभेसन कार्यक्रमका लागि पथरीशनिश्चरेमा १ करोड ५३ रुपैयाँको सम्झौता भइसकेको बताए । प्रविधि र सीप हस्तान्तरण गरी जिविकोपार्जनमा सुनिश्चितता अघि बढ््ने उनीहरुको भनाई छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, समाजसेवी देवराज भण्डारी सहितले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको भवनका लागि सांसद ढकालको संसद विकास कोषबाट १० लाख, नगरपालिकाको ७ लाख र वडा कार्यालयबाट ३ लाख र हेफरबाट २ लाख ५० हजार रुपैयाँ प्राप्त भएको थियो । सो सहकारीमा ८ सय ५० जना महिला शेयर सदस्य रहेका छन् ।