धरान । एकातिर कोसी नदीले निरन्तर कटान गरिरहेको छ भने अर्कातिर स्थानीयवासी तारजाली लगाउन व्यस्त छन् । गृहमन्त्री बालकृष्ण खाँड शनिबार हेलिकोप्टर चढी कोसीटप्पुमा आएपछि कोसी नदी पीडितले राहतको सास फेरेका छन् ।
निरीक्षणमा कोही नआउने, कोसीले बगाउनै लाग्दा पनि कसैले वास्ता नगरेको गुनासो गरिरहेका स्थानीयवासीले गृहमन्त्री आउँदा लामो सास फेरेको स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले बताए ।
कोसी नदी उकास जग्गामा ७० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय र बस्ती जोखिममा परेपछि बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका थिए । नगर प्रमुख थापाकै आग्रहमा मन्त्री खाँड स्थलगत निरीक्षण आएको नगरका प्रेस संयोजक सुमनसागर खतिवडाले बताए । गृहमन्त्रीसँगै प्रदेशका सुरक्षा प्रमुखहरूसमेतले कोसीको वितण्डाको निरीक्षण गरेका छन् ।
निरीक्षणपछि गृहमन्त्री खाँडले जनताको जिउधनको सुरक्षा गर्ने आश्वासन दिए । उनले कोसीको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘प्रभावितको उचित व्यवस्थापन गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीले निर्देशन दिनुभएको छ’ नगर प्रमुख थापाले भने, ‘गृहमन्त्रीको टोलीले कटान प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको छ ।’
लगातार वर्षाका कारण कोसी नदीमा आएको बाढीले पश्चिमी तटीय क्षेत्रमा तीव्र कटान गरेपछि गृहमन्त्री खाँड निरीक्षणका लागि श्रीलङ्का टप्पु आएका हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट आएका मन्त्री खाँडले बेलका नगरपालिका–८ को टप्पु क्षेत्रको निरीक्षण गरेका हुन् । उनले सप्तकोसीले कटान गरेको क्षेत्र, स्थानीयका समस्या, भइरहेका प्रयासका बारेमा जानकारी लिएको नगर प्रमुख थापाले बताए ।
लगातारको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले भदौ १२ र १३ गते तटीय क्षेत्रमा तीव्र कटान गरेपछि उदयपुरका मात्र करिब एक हजार तीन सय घर परिवार उच्च जोखिममा रहेका छन् ।
कोसीले बेलका–८ लाहुरेखोंच दक्षिण २ सय मिटर क्षेत्र र श्रीलङ्का टप्पुमा कटान गरेपछि वडा नं. २, ३, ९ सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका र कञ्चनरूप नगरपालिकाका बस्ती जोखिममा छन् । कोसीले टप्पु क्षेत्र तीव्र कटान हुन थालेपछि स्थानीयको अग्रसरता र जनश्रमदानमा तारजाली र तटबन्ध लगाउने काम भइरहेको छ ।
कोसीको वितण्डा रोक्न गाउँले आफैले लगाए तारजाली, चिउराभुजाको भरमा श्रमदान
जनसहभागिता कस्तो हुन्छ ? यतिबेला कोसी विपद्मा परेका बेलका नगरपालिकाका स्थानीयको जनश्रमदानलाई हेर्दा थाहा हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐनले अनिवार्य जनसहभागितालाई प्रवद्र्धन गरेको छ । तर, उपभोक्ता समितिको नाममा योजना ल्याई ठेकेदारको जिम्मा लगाएर कमिसन खाने उपभोक्ताले कोसी नदीको जोखिममा परेका स्थानीयले बगाएको रगत पसिना कसरी देख्लान् र ?
स्थानीय दिनरात नभनी जाग्राम बसेर नदी नियन्त्रणका लागि काम गरिरहेका छन् । उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोंचमा कोसीले किनारा छिचोल्नै लागेपछि गाउँले अहोरात्र स्थानीय स्रोत साधनबाटै बाध बाँध्न लागिपरेका छन् ।
कोसी नियन्त्रणका लागि नगरले २५ थान जाली दियो । गाउँलेले १० वटा ट्याक्टर भेला गरे । प्रतिट्याक्टर २५ लिटर तेल नगरपालिकाले जोहो गरिदियो । ट्याक्टरले ढुङ्गा बोकेर ल्याए । गाउँलेहरू बाँध बाँध्न कोसीमा हाम्फाले ।
शुक्रबार २ सय बढी स्थानीयले कोसीमा तारजाली हाल्न जनश्रमदान गरे । चिउरा र चाउचाउको भरमा दिनैभरि गाउँलेहरू तटबन्ध निर्मााणमा खटिए ।
‘एक दिन चिउराभुजा खाँदा ज्यान जाँदैन, बाँध नबाँधे त एउटा ज्यानको होइन, हजारौंको ज्यान जान्छ, बस्ती नै खत्तम हुन्छ’ स्थानीय महेशकुमार थुलुङले भने, ‘भरथेगका लागि काम गरिरहेका छौं, दिगो बाँध त सरकारकै मुख नताकी सुख छैन ।’
कोसीले कटान गरिरहेको ठाउँमा नियन्त्रण गर्नका लागि कम्तिमा पनि २ हजार–२५ सय जाली आवश्यक पर्ने स्थानीय बताउँछन् । तर, नगरपालिकाले २५ वटा जाली दिएको छ ।
‘२५ वटा नगरपालिकाले अनि २५ वटा चाहिँ जिल्लाले दिएको अरे, ५० वटा जालीले रोकिन्छ कोसी ?’ तेलको भरमा ट्याक्टर सहयोग गरेका स्थानीय रामहरि चन्द्रवशीले भने, ‘किन सरकारी निकायहरूको ध्यान जान सकेको छैन, हामी टप्पुबाट भाग्ने होइन, यसलाई जोगाउनेछौं ।’
कटान रोक्न जिल्ला सिंचाइ डिभिजन कार्यालयको सहयोगमा नगरले लञ्चिङ ड्याम तथा स्याण्ड प्याकिङको कार्य तुरुन्त गर्नका लागि डिभिजन सिंचाइ कार्यालयले ८ हजार थान बोरा र ५० थान तारजाली उपलब्ध गराउने निर्णय गरेको थियो ।
कोसी कटान तथा बहाव परिवर्तन रोक्न अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम तय गर्न प्रदेश तथा सङ्घीय सरकारलाई विशेष अनुरोध गर्ने बेलका नगरपालिकाले निर्णय गरेको थियो ।