एकातिर कोसी नदीले निरन्तर कटान गरिरहेको छ । अर्कातिर स्थानीयवासी तारजाली लगाउन व्यस्त छन् । गृहमन्त्री बालकृष्ण खाँड शनिबार हेलिकोप्टर चढी टप्पुमा आएपछि कोसी नदी पीडितले राहतको सास फेरेका छन् ।

निरीक्षणमा कोही नआउने, कोसीले बगाउनै लाग्दा पनि कसैले वास्ता नगरेको गुनासो गरिरहेका स्थानीयवासीलाई गृहमन्त्री आउँदा लामो सास फेरेको स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले बताए ।

कोसी नदी उकास जग्गामा ७० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय र बस्ती जोखिममा परेपछि बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्रालयको  ध्यानाकर्षण गराएका थिए । नगर प्रमुख थापाकै आग्रहमा मन्त्री खाँड स्थलगत निरीक्षण आएको नगरका प्रेस संयोजक सुमन सागर खतिवडाले बताए । गृहमन्त्रीसँग प्रदेशका सुरक्षा प्रमुखहरुसमेतले कोसीको वितण्डाको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि गृहमन्त्री खाँणले जनताको जीउधनको सुरक्षा गर्ने आश्वासन दिए । उनले कोसीको दीगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कोसी नदी नियन्त्रणमा कुटनीतिक र प्राविधिक प्रयास गर्ने मन्त्री खाँडले बताए ।

‘प्रभावितको उचित व्यवस्थापन गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीले निर्देशन दिनुभएको छ, नगर प्रमुख दुर्गाकुमार थापाले भने,‘ गृहमन्त्रीको टोलीले कटान प्रभावित क्षेत्रको स्थलगत र हवाइ अवलोकन गरेको छ ।’

लगातार वर्षाका कारण कोसी नदीमा आएको बाढीले पश्चिमी तटीय क्षेत्रमा तीव्र कटान गरेपछि गृहमन्त्री बालकृष्ण निरीक्षणका लागि श्रीलङ्का टप्पु आएका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट आएका मन्त्री खाँडले बेलका नगरपालिका– ८ को टप्पु क्षेत्रको  निरीक्षण गरेका हुन् । उनले सप्तकोसीले कटान गरेको क्षेत्र, स्थानीयका समस्या, भइरहेका प्रयासका बारेमा जानकारी लिएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

लगातारको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले भदौ १२ र १३ गते तटीय क्षेत्रमा तीव्र कटान गरेपछि उदयपुरका मात्र करिब एक हजार तीन सय घर परिवार उच्च जोखिममा रहेका छन् । कोसीले बेलका– ८ लाहुरेखोज दक्षिण २ सय मिटर क्षेत्र र श्रीलङ्का टप्पुमा कटान गरेपछि वडा नं. २,३,९, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका र  कञ्चनरुप नगरपालिकाका बस्ती जोखिममा छन् ।

कोसीले टप्पु क्षेत्र तीव्र कटान हुन थालेपछि स्थानीयको अग्रसरता र जनश्रमदानमा तारजाली  र तटबन्ध लगाउने काम भइरहेको छ ।