नेकपा एमाले सुनसरीले १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर विद्रोहको चेतावनी दिएको छ ।  

पार्टी कार्यालय इनरुवामा बसेको पदाधिकारीको भेलाले जिल्लाभित्र पार्टी एकताको मर्म विपरीतका गतिविधि भएको ठहर गर्दै जेठ २ मा फर्कने निर्णय नमान्ने बताएको छ । 

अध्यक्ष रेवतीरमण भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले एकता कार्यदलका नाममा भीम आचार्यलगायतका नेताले पार्टीभित्र स्वार्थगत निर्णय लाद्न खोजेको आरोप लगाएको छ । 

भण्डारी अध्यक्ष रहेकोे जिल्ला कमिटीका पदाधिकारीले एकलौटी ढङ्गले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै जबरजस्ती गर्न खोजिए पार्टीभित्र दुर्घटना निम्तनेतर्फ समेत पार्टी पङ्क्तिलाई सचेत गराएको छ । 

उसले तत्कालीन अवस्थामा रमेश बस्नेत अध्यक्ष रहेको कमिटी अवैधानिक रहेकाले समेत सो कमिटी पुनस्र्थापना गर्ने निर्णय आफूहरूलाई मान्य नहुने भनेको छ । 

असहज परिस्थितिमा पार्टीको नेतृत्व गरेर सुनसरीमा एमालेको साख जोगाइएको बताएको भण्डारी पक्षधर कमिटीले १० बुँदे सहमतिका नाममा गरिएको कुनै पनि निर्णय लागू हुन नदिने स्पष्ट पारेको छ  । 

पार्टीको निर्णय बमोजिम १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले एमाले सुनसरीमा पूर्व अध्यक्ष रमेश बस्नेतलाई पूनस्र्थापित गर्ने निर्णय गरेको थियो । 

सोही विषय सार्वजनिक भएसँगै भण्डारी अध्यक्ष रहेको कमिटीले असन्तुष्टि जनाउँदै विद्रोहसम्मको चेतावनी दिएको हो । 

हाल प्रदेश एकका मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका सचिव भीम आचार्य संयोजक रहेको कार्यदलले जेठ २ मा फर्कने सहमतिअनुसार सुनसरीमा बस्नेतलाई अध्यक्षमा पुनस्र्थापित गर्ने निर्णय लिएको छ । 

भण्डारी पक्षधर उक्त निर्णयको विपक्षमा उत्रिएसँगै एमाले सुनसरीमा दुई पक्षीय द्वन्द्वको सम्भावना देखा परेको छ ।

भण्डारी पक्षधर कमिटीले पार्टीभित्र जस्तोसकै कठोर कदम समेत चाल्न बाध्य हुने बताइरहँदा कार्यदलको निर्णय अनुसार पूर्व अध्यक्ष बस्नेतलाई सुनसरीमा पुनस्र्थापित गर्ने तयारी भइरहेको बुझिएको छ ।  

पार्टी कार्यालय इनरुवामा बसेको बैठकमा जिल्ला कमिटीका पदाधिकारीहरु निलम खनाल, पर्शुराम यादव, लिलम बस्नेत, योग्यराज खड्का, राम कोइराला, केदारप्रसाद न्यौपानेसहित केन्द्रीय कमिटी सदस्य तैयब हुसेनका साथै प्रदेश कमिटी सदस्य खेमराज पोखरेललगायतको उपस्थिति रहेको थियो ।