यासोक / पाँचथको कुम्मायक गाउँपालिकाले नाग र गरुडको मूर्तिको निर्माण गरेको छ । कुम्मायक ५ नम्बर वडाको तलाउ पोखरीमा नाग र गरुडको मूर्ति निर्माण गरेको हो ।

गाउँपालिकाले मूर्ति निर्माण गर्न गत वर्ष २०७७/०७८ मा ७ लाख रकम विनियोजन गरेको थियो । विनियोजित रकमबाट प्राचिन कला र संस्कृतिको संरक्षणका लागि पोखरीमा नाग र गरुडको मूर्ति निर्माण गरेको जनाएको छ । 

धेरै वर्षअघि पोखरीमा दबदबे हिलो र जरुवा पानीका कारण बालबालिकाहरुलाई जिउ सुनिने, पेट दुख्ने र घाउ खटिरा निस्कन थालेपछि हिलो र पानी सुकाउँन नागको पुजाआजा गरेको स्थानीय बताउँछन । पोखरीको पानी र दबदबे हिलो सुकाउन पुर्खाहरुले लामो समयदेखि पोखरीमा नाग र गरुणको आकृति बनाई राखेको स्थानीय गणेश चेम्जोङले बताए । धेरै वर्ष पूरानो आकृति पोखरीको संरक्षण संगै हराएपछि गाउँपालिकाले पुनः सोही स्थानमा नाग र गरुणको मूर्ति निर्माण गरेको हो ।

गाउँपालिका र वडाले वर्षेनी पोखरी संरक्षण गर्न बजेट विनियोजन गर्दै आएको छ ।  पोखरीको संरक्षण गर्न प्लाष्टर र घेराबार गरेको गाउँपालिकाले गत वर्ष नाग र गरुणको मूर्ति राखेको कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोराले बताए । यस अघि पनि कुम्मायक ३ नम्बर वडाले हात्तीपोखरीमा हात्तीको मूर्ति स्थापना गरेको थियो ।