धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेश “क” का क्षेत्रीय सभापति एवं समाजसेवी जितेन्द्र रुम्दाली राईको अगुवाईमा लेउती खोला आसपासमा रहेका खोला वगरमा काम गर्ने मजदुरहरुलाई मंगलवार खाद्यान्न सामाग्री वितरण गगरेका छन् ।
कोरोना महामारी र वर्षातको समयमा खोला किनाराको निर्माण सामाग्री उत्खननमा रोक लगाईए पछि रोजगारी गुमाएका स्थानिय मजदुरहरुलाई सहयोग पुगोस भन्ने उद्येश्यले आवश्यक खाद्य सामाग्री उपलव्ध गराउन पहल गरेको रुम्दालीले बताए ।
समाजसेवी रुम्दालीका अनुसार लेउतीखोला किनारा आसपासका साँगुरीगढी गाँउपालिका वडा नं १, ७ र ६ नम्वर वडाका एक सय एक परिवारलाई खाद्य सामाग्री उपलव्ध गरिएको बताइएको छ ।
“खोला किनारामा रहेका मजदुरहरुको मुख्य आम्दानीको श्रोत भनेकै खोलामा रहेको निर्माण सामाग्री ढुंगा गिटी र वालुवा उत्खनन गरि वेचविखन हो । तर वर्षातको समयमा त्यस्ता सामाग्री उत्खननमा सरकारले रोक लगाईएका कारण रोजगारी गुमेकाहरुको जीविकोपार्जनमा सहयोग पुगोस भन्ने नै मुख्य उद्येश्य हो ” । रुम्दालीले भने ।
मजदुरहरुलाई पच्चिस केजीको चामल, दुई केजी नून, दुई केजी चना, तीन पोका खाने तेल, दुई केजी चिनी, दाल चार केजी र भटमासको मस्यौरा दुई केजीका दरले करिव चार लाख रुपैया वरावरको खाद्यान्न सामाग्री वितरण गरिएको छ । उक्त राहात सामाग्री समाजसेवी रुम्दालीको पहलमा नेपालको दुवईस्थित नेपाली राजदूतवासको आर्थिक सहयोगमा वितरण गरिएको हो ।
राहत सामाग्रीहरु नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलवहादुर थापा लगायतले वितरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापति अग्नीप्रसाद पौडेल, सचिव विजयसन्तोषी राई लगायतको उपस्थिती रहेको थियो ।