भरौल । रामधुनी नगरपालिकामा रहेको एकमात्र सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

सुनसरीको रामधुनी–५ झुम्का बजारमा सिनेमा घर रहेको थियो । विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ । हलको तार सर्ट भई आज बिहान ९ बजेदेखि आगलागी सुरु भएको । 

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए । 

हलका सञ्चालक चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुँवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए । उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए । उनी सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।