इटहरी । कोरोना भाइरसका कारण सुस्ताएको प्रदेश १ को पर्यटन व्यवसाय अझै माथि उठ्न सकेको छैन । होटल तथा रेष्टुरेण्टहरू खुल्ला भए पनि पर्यटकहरू नआउँदा होटलहरू सुनसान छन् ।

बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा आशावादी रहेका व्यवसायी कोरोना सङ्क्रमणको सन्त्रास यथावत् रहेका कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् । प्रदेश १ को प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि पर्यटकको खडेरी लागेको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी बताउँछन् । आन्तरिक पर्यटकहरू समेत चलायमान नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सरकारले न्यूनतम् मापदण्ड पूरा गरी होटल खुलाउन भनेपछि होटल खुला गरेको भए पनि पाहुना आएनन् ।’

होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र राईले आन्तरिक पर्यकटहरू थोरै मात्रामा आइरहेको बताए । पर्यटक थोरबहुत बढ्दै आएको उनको भनाइ छ । ‘कोरोनाको डर अझै भएकाले आन्तरिक पर्यटकहरू पनि डराउने गरेका छन्’–उनी भन्छन् ।

सामाजिक दूरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प प्रायः बनेको पर्यटन व्यवसायी आन्तरिक पर्यटन पुनःउत्थान समिति प्रदेश १ का संयोजक भवेस श्रेष्ठले बताए । बेलुका ६ बजेपछि होटल व्यवसाय बन्द गराएको कारण होटल व्यवसायीहरू थप मारमा परेको बताए ।

भारतीय पर्यटकहरू नआउँदा प्रदेश १ का होटलहरू प्रायः सुनसान भएको उनको भनाइ थियो । प्रशासनले होटलहरूमा सभा, विवाहसमेत हुन नदिएको कारण होटल व्यवसाय उठ्न सक्ने अवस्थामा नभएको बताए । पर्यटन व्यवसायीहरूलाई खोपसमेत नदिएको भन्दै गुनासो गरे । अन्य व्यवसायीहरूलाई खोप लगाउनु पर्छ भने पनि पर्यटन व्यवसायीलाई हेला गर्दै आएको पर्यटन व्यवसायी श्रेष्ठको भनाइ थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा व्यवसायीको चासो
पर्यटन व्यवसाय धरासायी बन्दै गएको भन्दै व्यवसायीहरूले प्रदेश १ को पर्यटन विकासका लागि पहल सुरु गरेका छन् । प्रमुख धार्मिकस्थल तथा सगरमाथा रहेको प्रदेशमा पर्यटनको चर्चा हुन नसकेको भन्दै यसतर्फ व्यवसायीहरूले चासो देखाएका हुन् ।

प्रदेश १ का जिल्लाहरूमा भएका पर्यटकीय स्थलहरूको तथ्याङ्क सङ्कलन गरेर प्रचार गर्ने अभियान थालनी गरेको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीले जनाएको छ ।

प्रदेश १ का १४ जिल्लाको पर्यटकीय क्षेत्रको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु भएको जनाएको हो । अहिले पर्यटन व्यवसायीहरू जिल्लाहरूमा पर्यटन प्रवद्र्धनमा लागेको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घले जनाएको छ ।