नेपालमा धेरै चाडपर्वहरु छन्, जुन समयअनुसार मनाइन्छ । ती चाडपर्वहरुमध्ये आजको दिनलाई जनै पूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी पूर्णिमा तथा क्वाती पूर्णिमा भनिन्छ । यी पर्व आज धुमधामसँग मनाउने गरिन्छ ।

आज एकाबिहानै नुहाई–धुवाई गरी सप्तऋषिहरुलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । विशेष गरी हिन्दुहरुले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोलानाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राह्मणहरुले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरू पुरोहितले मन्त्रोच्चारण गरी जनै शुद्ध गरिएका हुन्छन् । आजै घरघर घुम्दै वा मन्दिर परिसरमा बसेर मन्त्र उच्चारण गर्दै कतिपय पुरोहितहरूले आम नागरिकहरुलाई रक्षाबन्धनका रुपमा रक्षा सूत्र (डोरा) बाँधिदिन्छन् । यी डोराहरु पूजापाठ गरी मन्त्र उच्चारण गरेर शुद्ध पारिएका हुन्छन् ।

परपम्रागत विधिसम्मत ढङ्गले बाँधिदिएका रक्षासूत्रले हामीमा भएको नकारात्मकता हटाई सकारात्मक ऊर्जा दिने गर्दछ भन्ने आम जनविश्वास रहेको पाइन्छ । हिन्दुहरुले धारण गरेको यो डोरा लक्ष्मीपूजाका दिन मात्र फुकाल्ने प्रचलन छ । यस दिन गाईलाई पूजा गरी गाईको घाूँटीमा माला लगाएर वा गाईको पुच्छरमा यो डोरा बाँध्नाले वैतरणी नदी पार गर्न सकिन्छ र आफूले गरेको पापबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहिआएको पाइन्छ तर, यो परम्परा क्रमशः लोप हुँदै गइरहेको छ ।

आजका दिन नेवारहरु चना, मटर, भटमासलगायत विभिन्न नौ किसिमका गेडागुडी मिसाएर स्वादिष्ट ढङ्गले पकाएर खाने गर्दछन् । यसलाई ‘क्वाती’ भनिन्छ किनकि आज  ‘क्वाती’ पूर्णिमा पनि हो । नेवारी भाषामा ‘क्वा’ भनेको तातो र ‘ती’ भनेको झोल हो । यसरी विभिन्न नौ किसिमका गेडागुडी मिसाएर पकाइएको तात्तातो झोल खानु स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्दछ ।

यसले सर्दी हटाउनुका साथै शरीरमा भएका विकारजन्य कीटाणुहरुलाई मारेर शरीरलाई स्वस्थ राख्न मद्धत पु¥याउँछ । अहिलेको अवस्थामा तातो पदार्थ खानु र पिउनु कति आवश्यक छ भनेर भनिरहनु त्यति आवश्यक नपर्ला । क्वातीको अलावा उनीहरु आज अन्य विभिन्न मीठामीठा परिकार पनि बनाएर खाने गर्दछन् ।

अलग बसेका वा टाढाटाढा बसेका कतिपय दाजुभाइहरु पनि आज एकै ठाउँमा बसेर क्वाती खाने गर्दछन् । जूठो परेकाहरुबाहेक धेरैजसोले आजको दिन आफ्नो छोरी चेली, ज्वाइँ, आफन्त आदिलाई बोलाएर क्वातीका अलावा अन्य मीठा र स्वादिला परिकार पनि पकाएर खुवाउँछन् ।

नेवारहरुका साथसाथै अन्य समुदायका महानुभावहरुले पनि आज क्वाती खाने प्रचलन रहेको पाइन्छ । यसरी  गेडागुडीको तातो झोल खानाले प्रशस्त प्रोटिन र भिटामिन पाई शरीरलाई ऊर्जावान बनाउँछ । अझ यी गेडागुडीहरु अङ्कुरित गरी सेवन गरेमा अझ धेरै पौष्टिकता प्राप्त हुने गर्दछ । पारिवारिक भेटघाटमा रमाइने नेपालका विभिन्न चाडपर्वहरुमध्ये यो पनि एक हो ।

आज रक्षा बन्धन पर्व पनि हो । आज नेपालको विभिन्न क्षेत्रमा बसोबास गरेका विशेष गरी तराई मूलका मानिसहरुले रक्षाबन्धन धुमधामका साथ मनाउँछन् । आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले ‘राखी’ बाँधिदिने गर्दछन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई रूपैयाँ, पैसा उपहार दिन्छन् ।

दाजुभाइहरुले दिदीबहिनीहरुको जहिले पनि रक्षा गर्ने र रक्षाकवचको रुपमा अडिग भइरहने वचन दिने गर्दछन् । दिदीबहिनीहरुले पनि आफ्ना दाजुभाइहरुलाई मीठामीठा परिकार बनाएर खुवाउने गर्दछन् । दिदीबहिनी र दाजुभाइप्रतिको अटुट माया, स्नेह देखाउने यो पर्व मनाउने उनीहरुको आफ्नै परम्परा छ । यसदिन राखी बाँध्न नपाउने दाजुभाइ तथा दिदीबहिनीहरुको मन अत्यन्त पीडादायी हुन्छ । विदेशमा भएका वा अन्यत्र बसी विविध कारणले राखी बाँध्न आउन नसकेका दाजुभाइहरुलाइ सम्झेर कुनै दिदीबहिनीहरु त धुरूधुरू रूने पनि गर्दछन् । कसैकसैले आफ्नो मनले खाने, घरपरिवारले रूचाएका व्यक्तिलाई दिदीबहिनी वा दाजुभाइ मानेर ‘राखी’ लगाउने र लगाइदिने पनि गर्दछन् ।

विभिन्न समयमा मनाइने विभिन्न चाडपर्वहरुको आ–आफ्नै विशेषता रहेको पाइन्छ तर कोरोनाको कहरले गर्दा पोहोरजस्तै यसपटक पनि जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाती पूर्णिमालाई रमाइलो गरी मनाउने अवस्था छैन । बढी भीडभाड नगरी आफ्नै घरमा स्वास्थ्य सर्तकतासहित अत्यन्त सामान्य रुपमा मनाउनु वा नमनाउनु यहाँहरुको परिस्थिति, अनुकूलता र प्रतिकूलतामा निर्भर हुने कुरा हो ।