इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम्स हाइब्रिड’ जातको केराखेती शुरु गरेका छन् । 

झापामा पहिलोपटक भित्र्याइएको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए । 

‘एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ’, उनले भने, ‘यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।’ यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उनको दाबी छ ।

विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुने कृषक बस्नेतले बताए । कोसा मोटो र लामो हुने बताउँदै उनले भने, ‘एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ ।’

बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गरेका छन् । एग्रिसेन्टरमा उनीसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । २५ लाख रुपैयाँबाट शुरु गरेको व्यवसायमा अहिले ७० लाख रुपैयाँ लगानी पुगिसकेको छ । एक वर्षअघि शुरु गरिएको केराखेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ । केराखेती बढाएर २५ बिघामा पु¥याउने लक्ष्य रहेको कृषक बस्नेत बताउँछन् । 

हाल दुई बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताए । 

सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल गएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गरे । 

इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि प्रयोगशालामा विकास गरिएको बिरुवा ल्याएर खेती गरिएको उनले बताए । 

विलियम जातको केराखेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउँछन् । 

फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेका छन् । यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ । साथै पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगरलगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादित केराको बजारको अभाव नरहेको बताउँदै कृषक बस्नेतले भने, ‘बजारको समस्या छैन, व्यापारीहरु बगानमै आउँछन् ।’