धनकुटा। धनकुटा नगरपालिकामा नगरवासीले विभिन्न शीर्षकमा धरौटी बापत बैङ्कमा जम्मा गरेको नगद भौचरको रेकर्ड नहुँदा धरौटी रकम फिर्ता गर्न समस्या भएको छ ।   

सेवाग्राहीले घरनक्सा पासलगायत विभिन्न शीर्षकमा बैङ्कमा जम्मा गरेको भौचरको रेकर्ड न.पा.मा नबुझाउँदा धरौटी रकम फिर्ता गर्न समस्या भएको हो । नगरपालिकाको नाममा धरौटी बापत जम्मा भएको रकम बैङ्क खाता र नगरपालिकाको आर्थिक प्रशासन शाखामा रहेको श्रेस्तामा रकम अन्तर भएपछि समस्या उत्पन्न भएको बताइएको छ ।

धनकुटा नगरपालिकाको आर्थिक प्रशासन शाखाका प्रमुख लेखा अधिकृत नरबहादुर भुजेलका अनुसार बैङ्कमा जम्मा गर्ने व्यक्ति वा पार्टीको नाम नखुलेको हुँदा धरौटी रकम फिर्ता गर्न समस्या भएको बताए । उनले नगरपालिकासँग कसले धरौटी रकम जम्मा ग¥यो भन्ने प्रमाण नहुँदा फिर्ता गर्ने आधार नभएको औंल्याए । लेखा अधिकृत भुजेलले न.पा.को श्रेस्तामा ९५ लाख रुपैयाँ रहेको छ भने बैङ्कमा भने १ करोड ८ लाख रुपैयाँ रहेको बताए ।

बैङ्क खाता र लेखा शाखाको श्रेस्तामा १३ लाख रुपैयाँ अन्तर आएको भुजेलले बताए । धरौटी रकम फिर्ता गर्नको लागि नगरवासीलाई थाहा होस् भन्नाको खातिर न.पा.ले पटक–पटक सार्वजनिक सूचना गर्ने गरेको छ । यो वर्ष पनि ३० दिने सूचना प्रकाशन गरेको लेखा शाखाले जनाएको छ ।

नगरपालिकाको लेखा शाखाले आ.व.०७५/७६ भन्दाअघि विभिन्न मितिमा जम्मा गर्ने कम्पनी, फर्म, संस्था वा व्यक्तिको नाममा प्रयोजनविहीन धरौटी रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ६६ अनुसार फिर्ता गर्नको लागि प्रक्रिया अघि बढाएको हो ।

सेवाग्राही हालसम्म फिर्ता लिन नआएकाले ऐ.को नियम ६८ र ऐ.को नियम ६७ बमोजिम सदरस्याहा गरी राजस्वमा दाखिला गरिने न.पा. लेखा शाखाले जनाएको छ । सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र धरौटी रकम फिर्ता पाउने कुनै आधार र प्रमाण भए न.पा. लेखा शाखामा दाबी गर्न भनिएको छ । आगामी भदौ ९ गतेसम्ममा दाबी नगरे स्वतः धरौटी रकम सरकारी राजस्वमा सदरस्याहा हुने बताइएको छ ।